सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बिहान मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामी भएकाहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ। बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रदेशबाट स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरिएको हो।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यहरूमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोजतलास तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउन आर्थिक र स्वास्थ्य सहायता उपलब्ध गराउने निर्णय गरेको हो।






