काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार र राहतसँगै विस्थापित तथा प्रभावित परिवारको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कार्यलाई उच्च प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

शुक्रबार सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले उद्धार, राहत र पुनर्स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गर्दै आवश्यक स्रोत, साधन र प्राविधिक जनशक्तिको परिचालन गर्न आग्रह गरेकी छन् ।

‘यस प्रलयकारी प्राकृतिक विपत्तिको परिप्रेक्ष्यमा सम्पूर्ण राजनीतिक दलहरूलाई आपसी समन्वय, सहकार्य र एकताका साथ राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न हार्दिक आह्वान गर्दछु’, भण्डारीले दलहरूलाई आह्वान गरेकी छन् ।

बुधबार तिब्बत हुँदै भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ भने ठुलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेको अवस्था छ । नदी तटीय क्षेत्रका बस्ती, घर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, शैक्षिक संस्थालगायतका संरचनामा ठुलो क्षति भएको छ ।

यस्तो कठिन घडीमा सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई सर्वाधिक प्राथमिकताका साथ अगाडि बढाउन, प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चारलगायतका अत्यावश्यक सेवा तथा राहतको तत्काल व्यवस्था गर्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा सम्पूर्ण सम्बन्धित पक्षलाई भण्डारीले आग्रह गरेकी छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय