काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध बनेको काठमाडौँ जोड्ने मुख्य लाइफलाइन नागढुंगा–मुग्लिन सडक खण्ड अस्थायी मर्मतपछि बिहान ११ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । चीन तर्फबाट भोटेकोसीमा आएको बाढी तथा अविरल वर्षाका कारण धादिङ, रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सडक र पुलहरूमा क्षति पुगेपछि देशभरको यातायात प्रभावित भएको थियो ।

सडक विभागले पहिरो पन्छाएर बाटो खुलाएसँगै रोकिएका सवारी साधनहरूलाई आलोपालो गरी गन्तव्यतर्फ पठाउन थालिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)का अनुसार हाल ५० देखि ६० वटा गाडीहरू १०/२० वटाको समूह बनाएर क्रमैसँग छाडिएको छ ।साथै सवारी सञ्चालनमा आएसँगै विपद्को विषम परिस्थितिमा यात्रुहरूबाट बढी भाडा असुल्ने प्रवृत्तिप्रति महासङ्घले कडा चेतावनी दिएको छ । अध्यक्ष सिटौलाले सरकारले तोकेको पुरानो भाडादर भन्दा एक रुपैयाँ पनि बढी लिन नपाइने स्पष्ट पारेका छन् । ‘विपद्को अवस्थामा तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा हदैसम्मको कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन,’ उनले भने ।महासङ्घले सडकमा अलपत्र परेका तथा विपदमा परेका यात्रुहरूलाई आ–आफ्नो ठाउँबाट अधिकतम सहयोग र समन्वय गर्न मातहतका कर्मचारी, यातायात व्यवसायी तथा चालक–सहचालकहरूलाई विशेष आग्रह गरेको छ ।बाटो खुले पनि सडक अझै पूर्ण रूपमा सुरक्षित भइनसकेकाले र अन्योलका कारण यात्रुहरूको चहलपहल भने निकै कम रहेको छ । बाटोको अवस्था हेरेर कुनै पनि समय पुनः आवागमन रोकिन सक्ने जोखिम रहेकाले सतर्कता अपनाएर यात्रा गर्न र अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय