काठमाडौँ । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिबार कुरा गर्दै विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सङ्गठन अहोरात्र खटिएको बताएका हुन् । प्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ ।

बेपत्ता व्यक्तिहरूको खोजीका लागि अनलाइन माध्यमबाट निवेदन लिने व्यवस्था मिलाइएको र घाइतेहरूको विवरण प्रहरीको फेसबुक पेजमार्फत नियमित अद्यावधिक भइरहेको छ । हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालहरूमा समन्वय गरी पहिचान गर्ने कार्य भइरहेको डीआईजी काफ्लेले बताए ।यसैगरी, सम्पर्कविहीन विदेशी पर्यटकहरूको खोजी र विवरण संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा पर्यटक प्रहरी परिचालन गरिएको छ । नेपाल टेलिकमसँगको समन्वयमा बेपत्ता व्यक्तिहरूको अन्तिम लोकेसन ‘ट्याली’ गरी खोजी कार्यलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ । विपद्को मौका छोपेर हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले कडा निगरानी राखेको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको प्रवक्ता काफ्लेले बताए । सामाजिक सञ्जालमा भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको समेत पहिचान गरी निगरानी भइरहेको प्रवक्ता काफ्लेले उल्लेख गरे । अवरुद्ध भएका मुख्य राजमार्गहरू खुलाउन प्रहरी टोली निरन्तर खटिएको र धादिङ लगायतका स्थानमा सडक सुचारु गराइएको पनि जानकारी दिए ।

नदी किनारमा रहेका शवहरूको पहिचानका लागि ड्रोन प्रयोग गरी खोजी कार्य भइरहेको उनले बताए । काठमाडौँको टिचिङ अस्पताल, पोखरा र चितवन लगायतका स्थानमा शव व्यवस्थापन र हस्तान्तरणको प्रक्रिया सुरु गरिएको छ । पहिचान हुन नसकेका शवहरूको हकमा नयाँ पारित कार्यविधिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ ।

उद्धार र खोजी कार्यमा केही प्राविधिक र भौतिक चुनौती रहेको प्रहरीले जनाएको छ । खोला किनारको दलदलमा हिँड्न सहज हुने विशेष प्रकारका बुट, वायरलेस ट्रयाकिङ डिभाइस र कम्तीमा १०० केजी तौल बोक्न सक्ने क्षमताका ड्रोनहरू आवश्यक रहेको प्रवक्ता काफ्लेले बताए ।

प्रभावित क्षेत्रमा थप फरेन्सिक चिकित्सकहरूको आवश्यकता रहेको र शवलाई सुरक्षित राख्न ‘रेफ्रिजिरेटिङ कन्टेनर’ का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको उनले जानकारी दिए। हाल जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि स्थान पहिचान गर्ने कार्य समेत भइरहेको काफ्लेले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय