काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म साढे ६ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भदौ १२ गतेसम्म कोषमा कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा भएको हो ।

हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संघ संस्थामार्फत् यस्तो रकम सङ्कलन भएको हो । पछिल्लो विवरण अनुसार बाढीअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात रहेकोमा विपद्पछिको छोटो अवधिमै ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ थपिएको हो ।बिहीबारसम्म कोषमा कुल ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६७० रुपैयाँ थियो । तर, शुक्रबार एकै दिन करिब २ अर्ब ४६ करोड रुपैयाँ थपिएर कुल मौज्दात साढे ६ अर्ब नाघेको हो ।

  • कुन बैंकमा कति रकम ?

राहत कोषका लागि विभिन्न ९ वटा बैंकहरूमा खाता खोलिएको छ । भदौ १२ गतेसम्मको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी ३ अर्ब २७ करोड ९९ लाख २ हजार ३३५ रुपैयाँ जम्मा भएको छ ।

यस्तै, एभरेष्ट बैंकमा १ अर्ब ९५ करोड २७ लाख १८ हजार १८५ रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ३० करोड ६२ लाख ८८ हजार ७५० रुपैयाँ सङ्कलन भएको छ ।

अन्य बैंकहरू क्रमशः नेपाल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, लुम्बिनी सनराइज, नबिल र ग्लोबल आइएमई बैंकमा पनि ठुलो परिमाणमा राहत रकम जम्मा भएको छ ।

नेपाली रुपैयाँका अतिरिक्त वैदेशिक मुद्रामा पनि सहयोग प्राप्त हुने क्रम बढेको छ ।

हिमालयन बैंक र लुम्बिनी सनराइज बैंकमा गरी कुल ६ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको छ । बिहीबारसम्म ५ लाख ८६ हजार ४८ डलर रहेकोमा १२ गते लुम्बिनी सनराइज बैंकमा थप रकम जम्मा भएसँगै डलर खाताको मौज्दात बढेको हो ।

सरकारले सङ्कलित यो रकम रसुवा बाढीका कारण घरवारविहीन भएकाहरूका लागि अस्थायी आवास निर्माण, खाद्यान्न, औषधि उपचार र भत्किएका सडक तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाएको छ ।

कोषमा रकम थपिने क्रम जारी रहेकाले यसले उद्धार र राहत कार्यमा थप सहजता ल्याउने विश्वास गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय