काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ आएर आफूहरूलाई थर्काएको आरोप लगाएका छन् ।
शनिबार बिहान वडामा आएर सांसद तामाङले थर्काएपछि केहीबेर भनाभन भएको उनले जनाएका छन् ।
“हामी बैठक बसिरहेका थियौँ, राहत कसरी वितरण गर्ने भनेर । अनि उहाँ (आशिका तामाङ) आउनुभयो । हामी एकचरण नगद बाँडीसकेका थियौँ, दश–दश हजार रुपैयाँका दरले । खाद्यन्न पनि एक लट बाँडीसकेका थियौँ- चाउचाउ, बिस्कुट,” वडाध्यक्ष कार्कीले भने ।
सोही समयमा सांसद तामाङ आएर थर्काएको उनले बताए । “उहाँ सिधै के भन्नुहुन्छ– तिमीहरू के हेरेका बसेको अहिलेसम्म, एउटा फ्रुटी पनि नबाँडी के रमिता देखाएर बस्या ? मैले त्यत्रो सामान पठाएको, सामान किन नबाँडेको ?”
सांसद तामाङले के समान भनेको हो, त्यो समान कहाँ आइपुग्यो भन्नेबारे आफूहरूलाई केही थाहा नभएको वडाध्यक्ष कार्कीले जनाए । सांसद कार्कीले एक्कासि आएर तिमी सम्बोधन गरी थर्काउँदा आफूहरूलाई पनि रिस उठेको उनले बताए ।
“’कस्लाई थर्का’ भन्यौँ हामीले । ‘तिमीहरू’ भन्नुभयो उहाँले । उहाँको त्यो स्वभावले असैह्य भयो । हामी रात-दिन सुत्न पाएको छैन, निदाएको छैन । साइरन बजेको छ, मान्छेलाई रातभर कुँद्याकुदै छौँ । आराम पाएको छैन । के निदाएर बस्या रे हामीलाई त ! हामीलाई पनि रिस उठ्यो अनि हामीले के स्टन्ट गर्न आएको, थर्काउन आएको भन्देको,” वडाध्यक्ष कार्कीले भने ।
सांसद तामाङले असहयोग गरेको उनले जनाए । उनले थपे, “हामी त फिल्डमा छौँ । उहाँ आएर एउटा क्यामेर तेर्साएर काम भयो त । काम त फिल्डमा गर्ने होला ।”







