काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला कलाकारहरू पनि सहयोगका लागि मैदानमा उत्रन थालेका छन् । यसै क्रममा चर्चित गायक दुर्गेश थापा र उनको टोली नुवाकोटको विदुर नगरपालिकामा पुगेर रसुवा-भाेटेकाेशी बाढी प्रभावितहरूलाई खान खुवाउन सक्रिय रहेको छ ।
गायक थापा विगत दुई दिनदेखि विदुर नगरपालिका-८, कोलनी क्षेत्रमा रहेर बाढी पीडितहरूका लागि स्थानीय बासिन्दाहरूसँग मिलेर खाना पकाउने र प्रभावित परिवारहरूलाई खुवाउने कार्य गरिरहेका छन् । उनले सामाजिक सञ्जाल खाना खुवाउँदै गरेको र बनाउँदै गरेको केही तस्बिर सेयर गर्दै विपत्तिको यस कठिन घडीमा सानो सहयोग पनि अर्थपूर्ण हुने बताएका छन् ।
उनले लेखेका छन्– ‘यतिबेला कसैलाई ठुलो सहयोग गर्न नसके पनि, भोक लागेको बेला एक छाक खाना खुवाउन सक्नु पनि ठुलो सेवा हो भन्ने लाग्छ । दुःख र विपत्तिको समयमा एक–अर्काको साथ बन्नु नै मानवता हो ।’







