काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाढीपहिरोका क्रममा फेला परेका शव तथा मानव शरीरका अंगहरूको डीएनए परीक्षण गरेर पहिचान गरिने बताएका छन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत बाढीपहिरोमा फेला परेका अधिकांश शव सग्लो अवस्थामा नरहेको भन्दै शव पहिचानका लागि डीएनए परीक्षण नै वैज्ञानिक उपाय भएको बताएका हुन् ।
उनका अनुसार फेला परेका ८५ प्रतिशतभन्दा बढी शवको सिंगो भाग छैन । हात, खुट्टा, करङ तथा शरीरका विभिन्न अंगका टुक्रा मात्र फेला परेको उनले उल्लेख गरेका छन् ।
‘फेला पारिएका ८५ प्रतिशतभन्दा बढी शवको सिंगो भाग छैन । प्राप्त भएको लाशको हात, खुट्टा, करङ्ग र शरीरका चोक्टा चोक्टा छन्,’ पुनले भनेका छन् ।
सग्लो शरीर फेला परेकाहरूको समेत प्रायः चिनिने अवस्था नरहेको भन्दै उनले आधुनिक प्रविधिबाट शवको पहिचान गर्न डीएनए नमुना संकलन गर्नुपर्ने बताएका छन् ।
पुनका अनुसार फेला परेका प्रत्येक मानव अवशेषको डीएनए नमुना लिएर नम्बरिङ गरिनेछ । त्यसपछि ती शव तथा शरीरका अंगलाई नेपाली सेना र प्रहरीका कम्पाउन्डमा सुरक्षित रूपमा गाडेर राखिनेछ ।
‘लाशको पहिचान गर्ने अति आधुनिक उपाय डीएनए स्याम्पल लिने मात्र हो । त्यसैले डीएनए स्याम्पल लिएर त्यो हरेक टुक्रा–टुक्रा लाशलाई नम्बर लगाएर आर्मी र पुलिसको कम्पाउण्डमा सुरक्षितसँग गाडिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पछि मृतकका आफन्तबाट डीएनए नमुना संकलन गरी परीक्षण गरिने र फेला परेको मानव अवशेषसँग डीएनए मिलान गरिने उनको भनाइ छ ।
डीएनए परीक्षणबाट मृतकको पहिचान भएपछि परिवारलाई सम्बन्धित मानव अवशेष हस्तान्तरण गरी काजक्रिया तथा अन्त्येष्टि गर्न दिने व्यवस्था गरिने पुनले बताएका छन् ।
‘सरकारको पनि अलिअलि बुद्धि छ नि । शरीरको कुनै अंगको कोषबाट डीएनए परीक्षण गरेर त्यसको रेकर्ड राखिन्छ । यही हो वास्तविक कुरा,’ पुनले भनेका छन् ।







