काठमाडौँ । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गराएका हुन्।२०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ गरी कुल २९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका थिए। गृह मन्त्रालयको सचिवस्तरको २०८३ भदौ ९ गतेको निर्णयले भदौ १५ गतेदेखि लागू हुने गरी उनीहरू प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन्।

प्रहरी महानिरीक्षक कार्कीले खुलातर्फका १३ जना नवनियुक्त प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्रसमेत प्रदान गरे। दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रहरी संगठनमा स्वागत गरे।

नवनियुक्त प्रहरी निरीक्षकहरूले प्रदर्शन गरेको समर्पण भाव, अथक परिश्रम र मेहनतको प्रतिफलस्वरूप यो सफलता हासिल भएको उनले बताए। उनले भने, ‘विभागीय नीति, निर्देशन र संगठनको मूल्य मान्यता एवम् आदर्शलाई आत्मसात् गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ।’

नागरिकप्रतिको जिम्मेवारीबारे स्पष्ट पार्दै उनले थपे, ‘उच्च व्यावसायिकता, इमानदारीता र जिम्मेवारी बोधका साथ संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिन्छु।’

बदलिँदो परिवेशमा देखा परेका सुरक्षा चुनौती, बहुआयामिक र तीव्र गतिमा परिवर्तनशील रहेको संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, प्रविधिको दुरूपयोगबाट सिर्जित अपराध लगायतका चुनौतीलाई सम्बोधन गर्न व्यक्तिगत ज्ञान, सिप, व्यावसायिक दक्षता तथा उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए। विपद् व्यवस्थापनमा देखा परेका समस्या एवम् चुनौतीहरूको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षाअनुरूप जिम्मेवारी बोधका साथ कार्य गर्न पनि उनले आग्रह गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय