चीनबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएका छन्  । बाढीबाट नुवाकोट,रसुवा र धादिङ जिल्ला प्रभावित भएका छन्। नुवाकोटमा रहेका नदी किनारा र आसपासका धेरै बस्ती बगाएको छ । बाढीले हताहत भएकाहरूको खोजी भइरहेको छ ।

बाढीपछि नुवाकोटका एकहजार आठसय ४८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुई हजार नौ सय ९२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

घाइते ३ जनाको उपचार भइरहेको छ । बाढीले नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा रहेको दुईवटा पक्की पुल बगाएपछि सडक सम्पर्कविच्छेद भएको छ । त्रिदेशीय मार्ग अन्र्तगत गल्छी–देवीघाट–बिदुर–वेत्रावति सडक पहिरोले ठाउँ/ठाउँमा बगाएको डीएसपी हवारीले बताए ।  पुरिएका बाटो तथा घर टहरा सुरक्षित रुपमा खोतल्ने काम भइरहेको छ ।

बाढीले नुवाकोटको चार स्थानीय तहको नदी किनारामा रहेका ठूला बस्तीहरू बगाएको छ । बिदुर र वेलकोटगढी नगरपालिका,किस्पाङ र तारकेश्वर गाउंपालिकाका नदी तटीय बस्ती बगाएको हो ।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित शान्तिबजार,बेत्रावती,सोले,तुप्चेफांट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट बजार, बुधसिङघाट, महादेवफाँट किनारा, तारुकाघाट, केउरेनी, कोल्पुटारफाँटमा ठूलो क्षति गरेको छ । भीमकाय अकल्पनीय बाढीले गरेको जनधनको क्षतिको सरकारी निकायले तथ्यांक संकलन गर्ने कार्य गरिरहेको छ ।

बाढीले त्रिशूली नदीको किनारामा रहेको नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा  एउटै स्थानमा २२ जनाको शव फेला पारेको प्रहरी नायव उपरीक्षक हवारीले जानकारी दिए। उनका अनुसार फेला परेकामध्ये ६ जनाको शव हेलिकोप्टरमार्फत् निकालिसकिएको र बाँकी शव संकलन गर्ने कार्य भइरहेको छ ।

डीएसपी हवारीका अनुसार एकै घरभित्र २२ जनाको शव फेला परेको र त्यसको विवरण संकलन कार्य भइरहेको छ । नुवाकोट र रसुवाको सिमा नपुग्दै नुवाकोटको बेत्रावतीस्थित घरमा ती शवहरू फेला परेका हुन् । होटेल हो वा अन्य के हो? विवरण संकलन गर्ने कार्य भइरहेको हवारीले बताए ।

गोसाइँकुण्ड मेलाको क्रममा तीर्थयात्रीहरू होटेलमा खाना खान वा बास बसेको स्थानमा सो घटना भएको बिदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय