काठमाडौँ । नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लामा ठुलो क्षति पुगेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन प्रभावित हुन सक्ने देखिएको छ ।
भदौ १० गते बिहान आएको बाढीले बागमती प्रदेशका नदी तटीय क्षेत्रमा जनधनको व्यापक क्षति भएको छ । अहिलेसम्म नौ सयभन्दा बढी मानिसको शव फेला परेको छ । चार हजार ६०८ जना सम्पर्कविहीन छन् ।
सिङ्गो पार्टी संयन्त्र उद्धार, राहत र व्यवस्थापनमा केन्द्रित रहेकाले पूर्वनिर्धारित महाधिवेशन कार्यतालिका थोरै तलमाथि पर्न सक्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । यद्यपि केन्द्रीय महाधिवेशनका लागि तीन महिनाभन्दा बढी समय रहेकाले कुनै समस्या नरहेको उनको भनाइ छ ।
‘पार्टी एकताको काम लगभग सकिएको छ । भोटेकोशी बाढीका कारण बागमती प्रदेश र गण्डकी प्रदेशका प्रभावित क्षेत्रका जिल्ला, पालिका र वडा सम्मेलन निर्धारित समयमै हुन सक्दैन’, रातोपाटीसँग उनले भने, ‘तर केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन गर्न कुनै समस्या छैन । स्थिति सामान्यीकरण भएपछि महाधिवेशन तयारी सम्बन्धमा छलफल गर्न बैठक बोलाउँछौँ । केन्द्रीय संयोजन समिति पश्चात् केन्द्रीय समिति बैठक बस्छ ।’
कपाको चैत/वैशाखमा बसेको केन्द्रीय संयोजन समिति बैठकले मङ्सिर ११–१५ सम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनको कार्यतालिका अनुसार असार/साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैगरी भदौ १५ गते वडा तहका अधिवेशन, १६ गतेदेखि भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन, कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो । तर वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिरमा एकता महाधिवेशन सम्पन्न गर्न कठिन हुने जिकिर गरे । यदि महाधिवेशन भए पनि पार्टीभित्रको समस्या समाधान नहुने उनले दाबी गरे ।
‘पहिलो कुरा मङ्सिरमा महाधिवेशन हुन कठिन छ । दोस्रो, भइहालेछ भने पनि पार्टीभित्रका समस्या समाधान हुनेवाला छैन । त्यसकारण पहिले पार्टीभित्रको नीति, सिद्धान्त, कार्यदिशा, लक्ष्य, रणनीति र कार्यनीतिबारे प्रस्ट धारणा बनाउनुपर्छ’, खनालले भने ।
आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति तीव्र रूपमा अगाडि बढिराखेकाले त्यो अन्योल चिर्न सक्नुपर्नेमा उनले जोड दिए ।
खनालले पार्टी नीति र नेतृत्वको विषयमा असहमति जनाउँदै असार ३ गते नेतृत्व समक्ष ३६ बुँदे असहमति पत्र पेस गरेका थिए । नेताहरूको कार्यविभाजनलाई लिएर तीव्र असन्तुष्टि जनाएका उनले प्रचण्ड–माधवबाट वामपन्थी पुनर्गठन नहुने स्पष्ट पारेका थिए ।
त्यसयता पार्टीको बैठकमा खनाल सहभागी हुन छाडेका छन् । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ १३ गते खनाललाई फकाउन उनको निवास डल्लुमा पुगेका थिए । करिब डेढ घण्टा भएको छलफलमा पार्टीको नीति, नेतृत्व, सिद्धान्त, कार्यदिशा र कार्यक्रमबारे कुराकानी भएको खनालले बताए ।
खनालले भने, ‘राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरेर पद्धति र कार्यशैली अन्तर्गत भिन्न ढङ्गले पार्टी र सिङ्गो कम्युनिस्ट आन्दोलन पुनर्गठन, रूपान्तरण सुदृढीकरण र अग्रगमनतर्फ जाने गरी अगाडि बढ्नुपर्छ भनेर मैले सुझाव दिएँ । कसरी जाने भन्नेबारे उहाँले केही सोच्नुहोला ।’
आजको आवश्यकता समग्र कम्युनिस्ट आन्दोलन वा समाजवादी आन्दोलनलाई व्यापक पुनर्गठन र रूपान्तरण गर्नुपर्ने खनालको भनाइ छ । सही क्रान्तिकारी राजनीतिक कार्यदिशा र सिद्धान्तको आधारमा नीति र नेतृत्व रूपान्तरण भएमात्र सिङ्गो कम्युनिस्ट आन्दोलनले एउटा उचाइ लिन सक्ने खनालको विश्वास छ ।
सहकार्यको हिसाबले अहिले पनि आफू नेकपामै रहेको तर पार्टीको दैनिक गतिविधिमा संलग्न नभएको उनले बताए । गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अगाडि साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ वटा वामघटक मिलेर नेकपा गठन भएको थियो । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी जम्मा १७ सिटमात्र जितेपछि पार्टीभित्र अन्तर्विरोध चुलिएको छ ।
चुनावमा पार्टी नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै वामपन्थी पुनर्गठन र रूपान्तरणका लागि मार्गप्रशस्त गर्न दबाब बढेको छ । आगामी दसैँ–तिहारसम्म बाढी प्रभावितहरूको उद्धार, राहत र व्यवस्थापनमा ध्यान दिनुपर्ने, त्यसपछि कात्तिकको मध्यसम्म चाडबाडको चटारो हुने हुँदा मङ्सिरमा महाधिवेशन हुनेमा अन्योल देखिएको छ ।
२०७८ साल भदौमा एमालेसँग अलग भएपछि माधव कुमार नेपालको संयोजकत्वका एकीकृत समाजवादी गठन भएको थियो, तर पार्टी विभाजनको औचित्य नेतृत्वले पुष्टि गर्न नसकेको आरोप लगाउँदै वरिष्ठ नेता खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायत नेताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । पार्टीभित्र असन्तुष्टिलाई २०८१ साल असारमा भएको १०औँ महाधिवेशनले पनि हल गर्न सकेन । अप्रत्याशित रूपमा नेतृत्वले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि महासचिव भुसाल, नेताहरू झाँक्री, डा. विजय पौडेल लगायत एकता प्रक्रियामा सहभागी भएनन् ।
यता २०७० सालदेखि हरेक निर्वाचनमा माओवादी केन्द्रको ओरालो यात्रामा नरोकिएपछि नेतृत्व छाड्न पार्टीभित्रै प्रचण्डमाथि दबाब बढेको थियो । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनले नेपालको राजनीति नै उथलपुथल भयो । तीव्र दबाबका बिच प्रचण्डले गत वर्ष असोजमा बोलाएको केन्द्रीय समिति बैठकले मङ्सिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गर्यो । तर महाधिवेशन नै नगरी प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने निर्णय गरेपछि जनार्दन शर्मा, राम कार्की, सुदन किराती लगायत नेताहरू पार्टीबाट अलग भए ।
दुवै पार्टीभित्र देखिएको अन्तर्विरोध हल नभई एकता भए पनि दीर्घकालीन समाधान निस्कन सकेको छैन । फरक फरक पृष्ठभूमिबाट आएका घटकहरूको फरक फरक स्वार्थ र साबिक पार्टीभित्रकै असन्तुष्टि बढ्दै जाँदा आगामी मङ्सिरमै महाधिवेशन हुनेमा नेताहरू सशङ्कित देखिएका छन् । साउन ९ गते नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा संयोजक प्रचण्डबिच प्रदेश सत्ता समीकरण सम्बन्धी तीन बुँदे सहमति भएका कारण तोकिएकै समयमा महाधिवेशन हुनेमा नेताहरू विश्वस्त देखिएका छैनन् । तर प्रवक्ता प्रकाश ज्वालाले पार्टीभित्र केही व्यक्तिको असन्तुष्टिले महाधिवेशन नरोकिने जिकिर गरे ।
‘केही व्यक्तिको असन्तुष्टिले महाधिवेशन रोकिँदैन । भोटेकोशी बाढीका कारण उद्धार र राहतमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले थोरै प्रभावित हुन सक्छ’, ज्वालाले भने, ‘सदस्यता नवीकरण र वितरण अभियान चलिराखेकै छ । अहिले यति नै सदस्यता नवीकरण भयो वा नयाँ सदस्यता थपियो भनेर भन्ने अवस्था छैन । सबै प्रदेशबाट अद्यावधिक भएपछि भन्न सकिन्छ ।’







