नेपालगञ्ज । नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपैडियाबाट वाराणसीसम्मका लागि ब्रडगेज रेल सेवा सोमबारदेखि सुरु गरिएको हो ।

१३७ वर्ष पुरानो रुपैडियादेखि बहराइचसम्मको करिब ५६ किलोमिटर रेलमार्गलाई स्तरोन्नति तथा विद्युतीकरण गरी सुविधासम्पन्न रेल सेवा विस्तार गरिएको हो ।

करिब ७३० करोड भारतीय रुपैयाँको लागतमा ब्रडगेज रेल्वे सेवा विस्तारसँगै रुपैडियामा नयाँ रेल्वे स्टेसन भवन र तीन वटा प्लेटफर्म लगायतका संरचना निर्माण गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रुपैडियादेखि वाराणसीतर्फ जाँदै गरेको रेललाई हरियो झण्डा देखाएर रेल सेवा शुभारम्भ गरका थिए । बहराइच–नानपारा नयाँ सेवाअन्तर्गत रुपैडियाबाट  वाराणसीसम्म इन्टरसिटी तथा एक्सप्रेस रेल सञ्चालन हुने छन् ।

गोन्डाबाट रुपैडियासम्म यात्रुवाहक रेल सेवासमेत विस्तार गरिएको छ । रुपैडियाबाट वाराणसी जाने इन्टरसिटी रेल बिहान करिब ४ बजे छुटेर दिउँसो १:३५ बजे वाराणसी पुग्ने र वाराणसीबाट दिउँसो २ बजे छुटेर राति ११ बजे रुपैडिया आइपुग्ने समयतालिका सार्वजनिक गरिएको छ ।

रेल सेवा सुरु भएसँगै रुपैडियाबाट गोन्डा, बहराइच हुँदै गोरखपुर र वाराणसी शहरसम्म सिधा सम्पर्क स्थापित भएको छ । वाराणसी, गोरखपुर लगायतका शहरसँग रेल सम्पर्क विस्तार हँुदा पश्चिम नेपालबाट भारततर्फ हुने लामो दूरीको यात्रामा सहजता हुनेछ ।

यो रेल सेवाबाट नेपालगञ्जलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यापारका लागि भारतका प्रमुख शहरहरूसम्म आवतजावत गर्न सहज हुनेछ ।

रेल सेवा विस्तारले भारत–नेपाल सीमावर्ती व्यापार, पर्यटन, धार्मिक यात्रा तथा सामाजिक सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

रेल सेवाको शुभारम्भ गर्दै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रेल सेवाको विस्तारले नेपालसँग सीमा जोडिएको बहराइच लगायतका सीमावर्ती क्षेत्रको विकासलाई गति दिने बताए ।

रुपैडिया अर्थात् नेपालगञ्ज रोडसम्मको रेल सेवा स्तरोन्नति तथा विद्युतीकरण भएसँगै क्षेत्रीय कनेक्टिभिटी स्थापित भई आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले बताए ।

रुपैडिहाबाट वाराणसीसम्मको रेल सेवा भारतको सीमावर्ती पूर्वाधार विस्तार मात्र नभई नेपालसँग जोडिएको यातायात सञ्जालको विस्तारसमेत हो । यसको प्रभावकारी उपयोग गर्न सके नेपाल–भारत सीमावर्ती व्यापार, पर्यटन र जनस्तरको आवागमनमा नयाँ सम्भावना खोल्न सक्नेछ ।

रुपैडियाबाट बसको यात्राभन्दा रेल्वे यात्रा सहज, सुरक्षित, सस्तो र छिटो हुने भएकाले यात्रुहरू हरेक दृष्टिले लाभान्वित हुने रुपैडियाका पत्रकार मणिराम शर्माले बताए ।

रुपैडियाबाट भारतका विभिन्न शहरसम्म चल्ने बस तथा रेल्वे सेवाका करिब ५० प्रतिशत यात्रु नेपाली नागरिक हुने गरेका छन् ।

सन् १८८६ मा भारतमा तत्कालीन अंग्रेज शासकले नेपालगञ्जको सीमावर्ती बजारसम्म रेल्वे र सडक निर्माण गरी नेपालगञ्ज रोड नामकरण गरेका थिए ।

रुपैडियामा निर्माण भएको सुविधासम्पन्न नयाँ रेल्वे स्टेसनबाट एक पटकमा करिब एक हजार यात्रु ओहोरदोहोर गर्नसक्ने क्षमता रहेको पत्रकार शर्माले बताए ।

नेपालबाट वर्षेनी ठूलो संख्यामा नेपाली भक्तजनहरू भारतका तीर्थस्थलहरूको दर्शनका लागि जाने गरेका छन् । नेपाल र भारतमा रहेका हिन्दु धर्मालम्वीहरू दुवै देशका प्रमुख तीर्थस्थलहरूमा दर्शनका लागि जाने गरेका छन् ।

भारतका विभिन्न शहरबाट रुपैडिया नेपालगञ्ज नाका हुँदै चीनको तिब्बतमा पर्ने हिन्दु धर्मावलम्वीहरूको प्रमुख तीर्थस्थल कैलाश मानसरोवर, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि जाने भारतीय पर्यटकहरू नेपालगञ्जको रुपैडिया बजारसम्म विस्तार भएको ब्रडगेज रेल्बे सेवा र नेपालगञ्ज विमानस्थलमा निर्माण भएको सुविधासम्पन्न टर्मिनल सञ्चालन हुने समाचारले उत्साहित भएका छन् ।

त्यसैगरी, नेपालका विभिन्न शहरबाट नेपालगञ्ज रुपैडिया नाका हँुदै भारतका प्रमुख तीर्थस्थल अयोध्या, बनारस र हरिद्धार दर्शनका साथै उपचार शिक्षा र रोजगारीका लागि लखनउ, दिल्लीदेखि मुम्बईसम्म जाने नेपाली लाभान्वित हुने पर्यटन व्यवसायी श्रीराम सिग्देलले बताए ।

पहिलो चरणमा यात्रु सेवा सञ्चालन भएपछि दोस्रो चरणमा मालबाहक सेवा सुरु गर्ने लक्ष्यका साथ माल गोदाम लगायतका संरचना निर्माणको काम भइरहेको छ । रुपैडियासम्म मालबाहक रेल्वे सेवा सुरु भए पनि भारतलगायत तेस्रो मुलकबाट आयात हुने मालसामानको ढुवानी सहज र सस्तो भई  नेपालगञ्जका उद्योग व्यवसायमा सकारात्मक प्रभाव पर्ने नेपालगञ्ज उद्योग व्यापार संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

रुपैडिया–कोहलपुर रेल्वे  सेवा विस्तारको माग

नेपालगञ्जसँग जोडिएको भारतीय सीमावर्ती बजार रुपैडियामा ब्रडगेज रेल्वे सेवा विस्तार भएसँगै नेपालगञ्जवासीले रुपैडियादेखि बाँकेको कोहलपुरसम्म रेल्वे लाइन विस्तारको काम सुरु गर्न सरकारसँग माग गरेका छन् ।

१५ वैशाख २०७५ मा भारतको पूर्वाेत्तर रेल्वे गोरखपुरले रुपैडियादेखि बाँकेको कोहलपुरसम्म रेल्वे लाइन विस्तारका लागि प्रारम्भिक नक्सा तयार पारी नेपाललाई बुझाएको थियो ।

पूर्वाेत्तर रेल्वे गोरखपुरबाट खटिएको आरके टेक्नो कन्सल्टेन्सीका इन्जिनियर सन्तोष त्रिपाठी सहितको प्राविधिक टोलीले ३० फागुन २०७५ देखि चैतको दोस्रो सातासम्म भारतको रुपैडियाबाट नेपालको कोहलपुरसम्म रेल्वे लाइन विस्तारका लागि सर्भेको काम गरेका थिए ।

सर्भे टोलीले रुपैडियादेखि बाँकेको बालेगाउँ, पुरैना, पुरैनीबाट राझा विमानस्थलको दक्षिणबाट नेपालगञ्ज–कोहलपुर सडक क्रस गरी नयाँवस्ती हुँदै कोहलपुरसम्मको करिब साढे १६ किलोमिटर क्षेत्रको सर्भे पूरा गरी प्रारम्भिक नक्सा सरकारलाई बुझाएको थियो । नक्सा बुझाएको ७ वर्ष बितिसक्दा पनि निर्माण सुरु हुन सकेको छैन ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठले रुपैडियादेखि बाँकेको कोहलपुरसम्म रेल्वे लाइन विस्तारको काम तत्काल सुरु गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

पूर्वोत्तर रेल्वे गोरखपुरले रेल्वे लाइन विस्तारका लागि केन्द्रबाट दुवैतर्फ २०/२० मिटर गरी ४० मिटर लामो क्षेत्रको रेखाङ्कन गरिसकेको छ ।

पूर्वोत्तर रेल्वे गोरखपुरका तत्कालीन प्रमुख इन्जिनियर राम जनमले प्रारम्भिक चरणको सर्भे नक्सा सहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाँके र रेल्वे विभाग काठमाडौंलाई बुझाएका थिए ।

पूर्वोत्तर रेल्वे गोरखपुरले प्रतिवेदन पाए लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेले रेल्वे लाइन विस्तार हुने जग्गाको चलन चल्तीको मूल्य प्रतिकठ्ठा ५ लाखदेखि ६० लाखसम्म निर्धारण गरेको थियो ।

रुपैडियादेखि कोहलपुरसम्म सिंगल लाइन रेल्वे सेवा विस्तार गर्ने लक्ष्यका साथ सर्भे गरिएको थियो । रुपैडियादेखि कोहलपुरसम्मको साढे १६ किलोमिटर लामो रेल्वे लाइनमा करिब ८ किलोमिटरको दुरीमा पर्ने पुरैनीमा जक्सन निर्माण हुनेछ ।

भारतको रुपैडियामा सन् १८८६ मै रेल्वे सेवा विस्तार भए पनि त्यसको झन्डै १३० वर्षपछि रुपैडियादेखि नेपालगञ्ज हुँदै कोहलपुरसम्म रेल्वे सेवा विस्तार गर्ने योजना तर्जुमा गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय