दौ, काठमाडौं । भुटानको थिम्पुमा आयोजना हुने काभा बिच भलिबल टुरमा चार नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको हलमा भएको बार्यक्रममा राखेप सदस्य सचिव राम चरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरे । उनले भुटानमा हुने प्रतियोगितामा नेपाली टिमलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । नेपाली टोली बुधबार भुटान प्रस्थान गर्नेछ ।
यही भदाै १९ देखि २१ गतेसम्म आयोजना हुने काभा बिच भलिबल टुरमा नेपालबाट दुई पुरुष र दुई महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन शेष्ठले जानकारी दिए ।
पुरुषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निराैला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडी तथा महिलातर्फ कमला पुन र कोपिला राना तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको प्रशिक्षमा श्रीराम बोगटी तथा जितेन्द्र श्रेष्ठ टिम व्यवस्थापकको रुपमा रहेका छन् ।
यसअघि भुटानमै भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले बिच भलिबलमा दुई जनाको मात्र टिम भएकोले सानो स्थानमा खेल्न सकिने भएकोले ईन्डोर भलिबल भन्दा सस्तो र सहज पनि भएको बताए । दशाैँ राष्ट्रिय भलिबलमा पनि बिच भलिबललाई समेट्न चन्दले राखेप सदस्य सचिवलाई आग्रह गरे ।
चन्दले यस पटक काभा बिच भलिबल टुरमा नेपालको महिला पुस दुवै टिमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
नेपाल भलिबल संघका उपाध्यक्ष भरत बहादुर शाहले बिच भलिबलमा विगतको वर्षमा नेपाल च्याम्पियन भईसकेको र गत वर्ष महिला टोलीले संवरण र पुरुष टोलीले रजत जितेको भन्दै बिच भलिबलको सम्भावना राम्रो रहेको बताए ।







