काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी गराएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने ।
साथै, गृहमन्त्री गुरुङले अझै आशा नमारेको पनि जिकिर गरे ।‘अझै पनि हामीले होप लुज (आशा मारेको) गरेका छैनौं । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लाएको छ । हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गर्नुभएको छ,’ गृहमन्त्री गुरुङले भने ।







