अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सन् २०२४ मा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयास सफल भएको भए अमेरिकामा गम्भीर गृहयुद्ध भड्किन सक्ने दाबी गरेका छन् । उनका अनुसार त्यसबाट अमेरिकी राजनीतिक प्रणालीको वैधतामाथि समेत गम्भीर प्रश्न उठ्ने थियो ।
इसाई पोडकास्टर ब्राइस क्रफोर्डसँगको कुराकानीमा भेन्सले धर्म, आध्यात्मिकता, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विभिन्न विषयमा आफ्ना धारणा राख्दै ट्रम्पमाथिको हत्या प्रयासबारे यस्तो टिप्पणी गरेका हुन् ।
ट्रम्पको मृत्यु भएको भए गृहयुद्ध हुन सक्थ्यो
सन् २०२४ मा पेन्सिलभेनियामा चुनावी अभियानका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली उनको कान छोएर गएको थियो भने घटनामा उनका एक समर्थकको मृत्यु भएको थियो । ट्रम्प भने उक्त आक्रमणबाट जोगिएका थिए ।
त्यस घटनालाई स्मरण गर्दै भेन्सले यदि उक्त हत्या प्रयासमा ट्रम्पको मृत्यु भएको भए त्यसलाई उनका समर्थकहरूले ठूलो षड्यन्त्रका रूपमा लिन सक्ने बताएका छन् । भेन्सका अनुसार ट्रम्पका धेरै समर्थकलाई उनीहरूको रोजाइको राष्ट्रपतिलाई कुनै षड्यन्त्रमार्फत मारिएको भन्ने हुने थियो । स्वयं ट्रम्पका समर्थक मात्र नभई अन्य मानिसमा पनि त्यस्तै धारणा फैलिन सक्थ्यो र त्यसले अमेरिकाको राजनीतिक प्रणालीको वैधतामाथि नै प्रश्न खडा गर्ने थियो भन्ने उनको भनाइ छ ।
‘यदि गोली लागेर ट्रम्पको मृत्यु भएको भए देशमा यस्तो गृहयुद्ध हुन सक्थ्यो, जसबाट अमेरिका सायद कहिल्यै उम्कन सक्दैनथ्यो,’ भेन्सले भने ।
ट्रम्पले पनि सन् २०२४ को आक्रमणबाट आफू बचेको घटनालाई दैवी कृपाका रूपमा व्याख्या गर्दै आएका छन् । भेन्सले आफू पनि त्यसलाई त्यस्तै रूपमा हेर्ने सङ्केत गरे ।
ट्रम्पको बचाउ
पोडकास्टमा भेन्सले ट्रम्पको व्यवहारको पनि बचाउ गरे । केही समयअघि ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई ईसा मसीहको स्वरूपमा प्रस्तुत गरिएको एआई तस्बिर सेयर गरेपछि विवाद भएको थियो । त्यस विषयमा भेन्सले ट्रम्पको उद्देश्य भगवान्को मजाक उडाउनु वा उहाँको नक्कल गर्नु नभएको बताए ।
ट्रम्प स्वभावैले वातावरणलाई हल्का बनाउन मजाक गरिरहने व्यक्ति भएको उनको दाबी थियो । ‘उहाँ कसैलाई नराम्रो महसुस गराउन चाहनुहुन्न । उहाँ प्रायः वातावरणलाई हल्का र रमाइलो राख्न खोज्नुहुन्छ,’ भेन्सले भने ।







