इन्डोनेसियाको चर्चित माउन्ट अनाक क्राकाटाउ ज्वालामुखीमा गएको शक्तिशाली विस्फोटका कारण राजधानी जकार्तास्थित देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा केही घण्टाका लागि पूर्णरूपमा स्थगित भएको छ। ज्वालामुखीबाट निस्किएको बाक्लो खरानीको बादल आकाशमा फैलिएपछि उत्पन्न गम्भीर सुरक्षा जोखिमका कारण यो आपतकालीन कदम चालिएको हो।
यस विस्फोटबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी उडान प्रभावित भएका छन्। इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार ज्वालामुखीबाट निस्किएको खरानीको बाक्लो बादल विमानस्थल आसपासको आकाशमा फैलिएएपछि सुरक्षा सतर्कता अपनाउँदै जकार्ताको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।
स्थानीय समयअनुसार बिहान १:३० बजेदेखि ९:३० बजेसम्म बन्द गरिएको यस हवाई सेवा अवरोधका कारण करिब २२ हजार ७९८ भन्दा बढी यात्रुहरू मर्कामा परेका छन्।
प्रभावित उडान र उडान तालिकामा असर हवाई उडान स्थगित हुँदा सिंगापुर, हङकङ, सिड्नी, सियोल, दोहा, एम्स्टर्डम र क्वालालम्पुर जाने तथा आउने उडानहरू नराम्ररी प्रभावित भएका छन्।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ मात्र १६ वटा उडान रद्द भएका छन् भने ७ वटा ढिलाइ र ५ वटा पुनः तालिकीकरण गरिएका छन्। विमानस्थल खुले पनि उडान तालिका र विमानको रोटेसनमा असर परेकाले सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर मात्र यात्रा गर्न अधिकारीहरूले आग्रह गरेका छन्।
विद्यालय र माछा मार्ने गतिविधि बन्द शुक्रवार रातिदेखि नै सक्रिय रहेको अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको खरानीको बादल जाभा तर्फ करिब ६ हजार मिटर र सुमात्रा तथा बान्टेन प्रान्ततर्फ १५ हजार मिटरको उचाइमा पुगेको मौसम विज्ञान तथा भूभौतिकी निकायले जनाएको छ। खरानीको प्रत्यक्ष असरका कारण प्रभावित क्षेत्रका विद्यालयका पठनपाठन गतिविधिहरू रोकिएका छन् भने स्थानीय माझीहरूलाई माछा मार्न नजान आग्रह गरिएको छ।
साथै, स्थानीय बासिन्दालाई मास्क तथा चस्मा प्रयोग गर्न र घर बाहिर ननिस्कन प्रशासनले चेतावनी जारी गरेको छ। सुनामीको जोखिम नरहेको दाबीआपत्कालीन तथा विपद् व्यवस्थापन अधिकारीहरूले हाललाई सुनामीको कुनै पनि तात्कालिक जोखिम नरहेको स्पष्ट पारेका छन्। यद्यपि, सन् २०१८ मा यही अनाक क्राकाटाउ ज्वालामुखीमा गएको शक्तिशाली विस्फोटपछि आएको विनाशकारी सुनामीले ठूलो धनजनको क्षति पुर्याएको स्मरण गर्दै अधिकारीहरूले नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।







