पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ ।
पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ । उनले भने, ‘हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ ।’
माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम बाँकी छन् । सर्वसाधारणका गाडी गुड्न अझै समय लाग्ने उनको भनाइ छ ।
अगामी भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको उनले बताए ।







