काठमाडौँ । आधुनिक जीवनशैली अपनाउने क्रमसँगै मानिसमा धूम्रपानको लत पनि बढिरहेको छ । पछिल्लो समय नेपालमा मधुमेहको समस्या ठुलो स्वास्थ्य चुनौती बन्दै गइरहेको छ ।

यस्तो अवस्थामा मधुमेह र धूम्रपानको संयोजन स्वास्थ्यका लागि कति हानिकारक हुन सक्छ भन्ने विषयमा हालै एउटा नयाँ अध्ययन सार्वजनिक भएको छ ।

उक्त अध्ययनले धूम्रपान गर्ने मधुमेहका बिरामीमा मृत्युको जोखिम ५५ प्रतिशतसम्म बढ्ने देखाएको छ । यसलाई ध्यानमा राख्दै विशेषज्ञहरूले अब ‘टाइप–२’ मधुमेहका बिरामीको उपचारमा धूम्रपानको लत छुटाउने प्रयासलाई पनि समावेश गर्नुपर्ने बताएका छन् ।

चिकित्सकले बिरामीलाई एकपटक धूम्रपान छोड्न भनेर मात्र नपुग्ने भएकाले नियमित ‘फलोअप’ र परामर्श पनि दिनुपर्ने विशेषज्ञहरूको सुझाव छ ।

यो अध्ययन ‘डायबिटिज रिसर्च एन्ड क्लिनिकल प्राक्टिस’ जर्नलमा प्रकाशित भएको हो । यसलाई भारतसहित १३ देशका ३५ जना विशेषज्ञले तयार गरेका हुन् । नयाँ अन्तर्राष्ट्रिय सहमतिले पनि ‘टाइप–२’ मधुमेहको उपचारमा धूम्रपान त्यागलाई आवश्यक हिस्सा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

  • के छन् धूम्रपान छोड्ने विकल्प ?

अध्ययनमा समस्यासँगै त्यसको समाधानबारे पनि उल्लेख गरिएको छ । प्रतिवेदनले मधुमेहका बिरामीमा धूम्रपानको लत छुटाउन पहिलो रोजाइका रूपमा ‘भारेनिक्लिन’ नामक औषधि प्रयोग गर्न सुझाव दिएको छ । यो औषधि उपलब्ध नभएमा वा उपयुक्त नभएमा ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ वा ‘बुप्रोपियन’लाई विकल्पका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । नयाँ अन्तर्राष्ट्रिय सिफारिसले भने औषधिसँगै व्यवस्थित र गहन व्यवहारगत परामर्शलाई पनि जोड दिएको छ ।

अध्ययनका तथ्याङ्क निकै महत्त्वपूर्ण छन् । ११ लाख ३० हजार मानिसलाई समेटिएको ४८ वटा अध्ययनको ‘मेटा–विश्लेषण’मा धूम्रपान गर्ने मधुमेहका बिरामीमा मृत्युको जोखिम ५५ प्रतिशत बढी देखिएको थियो ।

त्यस्तै, करिब एक लाख ३० हजार मधुमेहका बिरामीमा गरिएको अर्को अध्ययनमा धूम्रपान गर्नेहरूमा समग्र मृत्युको जोखिम ४८ प्रतिशत बढी देखिएको थियो । यस समूहमा मुटुसम्बन्धी रोगबाट मृत्यु हुने जोखिम ३६ प्रतिशत रहेको बताइएको छ ।

  • उपचारका क्रममा निगरानी राख्नु आवश्यक

बिरामीले धूम्रपान छोडेपछि पनि नियमित निगरानी गर्न विशेषज्ञहरूले चिकित्सकलाई सुझाव दिएका छन् । धूम्रपान छोडेको दुई साताभित्र र त्यसपछि चार सातामा बिरामीको पुनः जाँच गर्नुपर्ने सिफारिस गरिएको छ । यस क्रममा ‘ब्लड सुगर’को स्तर, रक्तचाप र तौलजस्ता विषयको निगरानी गर्नुका साथै परामर्श दिन पनि आवश्यक रहेको बताइएको छ । बिरामीले धूम्रपान छाडेपछि औषधिको मात्रा हेरफेर गर्नुपर्ने भएकाले पनि परामर्श जरुरी भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय