बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका-१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् ।
पानी निरन्तर परीरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताए। बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर पहिरोको जोखिममा रहेका डिलाशैनी-१ का वडाध्यक्ष कृष्णकुमार धामीले बताए। यसैबिच आइतबार सोक्षेत्रको प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन्।
“बस्तीबाट करिब ५०० मिटरमाथी जमिन चिराचिरा परेर भाँसिएको छ । केही दिनयता निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम बढेको हो”, वडाध्यक्ष धामीले भने, “जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ ।”
गाउँपालिका अध्यक्ष सन्तोष जोशीका अनुसार जोखिममा रहेका परिवारलाई आफन्तको घरमा वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । “उहाँहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उनले भने। जमिनमा देखिएको दरारका कारण वर्षा थपिएसँगै जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।







