काठमाडौँ । केन्द्रीय कमिटी बैठकअघि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको एमाले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन कार्यदलको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी असोज ५, ६ र ७ गते काठमाडौँमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइसकेका छन् ।
केन्द्रीय कमिटी बैठकअघि संयोजक थापाले कार्यदल बैठक बोलाएर प्रतिवेदनलाई अन्तिम रूप दिन लागेका हुन् । यसअघि कार्यदलले देशभर सङ्कलन गरेको सुझावका आधारमा महासचिव शङ्कर पोखरेलले तयार पारेको ६५ पेज लामो प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले ‘अस्वीकार’ गरेपछि संयोजक थापा आफैँ प्रतिवेदन लेखनमा लागेका हुन् ।
‘अघिल्लो प्रतिवेदन मस्यौदा अध्यक्षले अस्वीकार गरेपछि अहिले उपाध्यक्ष आफैँ प्रतिवेदन लेखनमा जुट्नुभएको छ । अबको एक दुई दिनभित्र प्रतिवेदन लेखनको काम सकेर कार्यदलको बैठक बोलाउने तयारी हुँदैछ’, बादल निकट स्रोतले भन्यो– ‘पछिल्लो प्रतिवेदन अध्यक्षसँगको सल्लाहमा तयार हुँदैछ ।’
त्यसका लागि उपाध्यक्ष थापा आइतबार साँझ अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका थिए । गुण्डुमा थापाले ओलीसँग २ घण्टा छलफल गरेका छन् । त्यसक्रममा प्रतिवेदनमा समावेश गर्ने सुझाव र प्रयोग गर्ने शब्दका बारेमा छलफल भएको ओली निकट स्रोतको भनाइ छ ।
‘आइतबार गुण्डुमा अध्यक्ष र कार्यदल संयोजकबिच २ घण्टा बढी कुराकानी भएको छ । प्रतिवेदन मस्यौदा कस्तो बनाउने भन्नेमा नै छलफल केन्द्रित भएको बुझिएको छ’, एमालेका एक नेताले रातोपाटीसँग भने, ‘फागुन २१ को चुनावी नतिजा एमालेको पक्षमा नआउनुमा नेतृत्वको कमजोरी नभई अल्गोरिदम र देशी विदेशी शक्तिको चलखेल मुख्य कारण रहेको प्रतिवेदनको आशय हुनेछ ।’ ओलीसँगको छलफल र सुझावका आधारमा थापाले कार्यदल बैठक प्रतिवेदन अनुमोदन गराउने तयारी गरेका छन् ।
यसअघि एमाले पुनर्गठन गर्दा मुख्य नेतृत्वले जिम्मेवारी लिँदै निकासका लागि पद छाड्नुपर्ने भनेर आएका सुझाव बादलको प्रतिवेदनमा नराखिने भएको छ ।
‘देश नै सङ्कटको अवस्थामा रहेकाले यस्तो बेला पार्टीलाई थप मजबुत र एकताबद्ध बनाउन अहिलेकै नेतृत्वमा अघि बढ्नुको विकल्प छैन भन्नेमा अध्यक्ष र कार्यदल संयोजक दुवै एकमत हुनुहुन्छ, सोही अनुसारको प्रतिवेदन बन्छ’,बादल निकट स्रोतले भन्यो, ‘यस्तो बेला नेतृत्व बदल्ने कुरा कहीँ कतै हुँदैन ।’







