‘तेरो बाउले त मसँग जीवन मात्र चलाएछ, प्रेम त उसैसँग गरेछ’ माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलरमा अभिनेता ‘दयाहाङ राई’ सँग उनकी आमाले यस्तो घतलाग्दो संवाद बोन्छिन् ।
फिल्म क्षेत्रमा नयाँ अनुहारझैं लाग्ने ती आमा पात्र को होलिन् ? यही भदौ २६ देखि रिलिज हुन लागेको फिल्मको ट्रेलर हेरेपछि कतिपय दर्शकलाई यस्तो लागिरहेको हुनसक्छ ।
उनी हुन्, कलाकार प्रतीक्षा गुरुङ ।
कलाकार अवतारमा माओत्से गुरुङ दयाहाङका कहिले दाइ भए त कहिले बा, कहिले ठूलो बा, कहिले मामा । फिल्म डिग्री माइला, दिमाग खराब, मिस्टर झोले लगायतमा उनी दयाहाङका बा बनेका छन् ।कतिपय दर्शकहरूले त माओत्सेसँग प्रत्यक्ष भेट्दा उनलाई साँच्चिकै दयाहाङको बा ठानिरहेका हुन्छन् ।
फिल्म दयारानीमा तस्वीर मै सही, उनी हजुरबा अवतारमा झुल्किन्छन् । रोचक कुरा के भने, अरूबेला दयाहाङका बा बनेका माहोत्सेले पेन्सन पट्टामा आफ्नी जीवनसंगिनीलाई दयाहाङकी आमाको भूमिकामा उभ्याएका छन् ।







