काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बाढी र त्यसले निम्त्याएको विनाशलाई ‘सुनामीजस्तै’ भन्दै प्रधानमन्त्री अल्बानिजले यस कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्।

‘आज मैले नेपालका प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै विनाशकारी बाढी र सुनामीजस्तै विपत्तिपछि अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेको छु,’ उनले लेखेका छन्, ‘अस्ट्रेलिया नेपालको साथमा उभिएको छ र मानवीय सहायता सामग्री, उपकरण तथा विशिष्ट क्षमतामार्फत सबैभन्दा बढी आवश्यकता भएको क्षेत्रमा सहयोग पुर्‍याइरहेको छ।’

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलिया सरकारले तत्काल आवश्यक मानवीय सहायता सामग्री, उद्धार उपकरण तथा विशिष्टीकृत प्राविधिक सहयोग उपलब्ध गराइरहेको उल्लेख गरेका छन्।

‘विपत्तिमा भएको मानवीय क्षति र भौतिक विनाश हृदयविदारक छ,’ उनले भनेका छन्, ‘हामी विपद् प्रभावित क्षेत्रमा मानवीय सामग्री, उपकरण र विशेषज्ञ क्षमतासहित सहयोग पुर्‍याइरहेका छौँ।’

उक्त बाढीमा परी अस्ट्रेलियाली नागरिकहरू समेत सम्पर्कविहीन भएको उल्लेख गर्दै अल्बानिजले उनीहरूको खोजीका लागि हरसम्भव प्रयास जारी राख्ने बताएका छन्।

उनले अझै फेला पर्न नसकेका अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तजनप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय