काठमाडौँ । रोमानियाको बुखारेस्टमा सम्पन्न २३औँ अन्तर्राष्ट्रिय भाषाविज्ञान ओलम्पियाड (आईओएल) मा नेपालले पहिलोपटक अवार्ड जितेको छ। प्रतियोगितामा नेपालका तर्फबाट सहभागी प्रज्ञान देवकोटाले ‘विशेष प्रशंसा’ हात पारेका हुन्।
यससँगै प्रतियोगिताको इतिहासमा नेपालले पहिलो पुरस्कार प्राप्त गर्न सफल भएको छ।प्रज्ञानसँगै नेपाली टोलीमा प्रत्युष राज झा, आयास श्रेष्ठ र मिकाह राणा सहभागी थिए। उनीहरूले विश्वभरका उत्कृष्ट माध्यमिक तहका प्रतिस्पर्धीहरूसँग व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरेका थिए। यो उपलब्धि सन् २०१७ मा चन्दन गुप्ताले नेपालमा भाषाविज्ञान ओलम्पियाडको सुरुआत गर्दा देखेको दीर्घकालीन परिकल्पनाको साकार रूप भएको आयोजकले जनाएको छ।हिमालयन कम्प्युटेसनल, लिङ्ग्विस्टिक एण्ड एआई ओलम्पियाड इन नेपाल (एचएलओएन) का सह-संस्थापक तथा सह-अध्यक्ष गुप्ताले यस उपलब्धिलाई एक दशक लामो मिहिनेतको प्रतिफल मानेका छन्। ‘आईओएलजस्तो अन्तर्राष्ट्रिय मञ्चमा सफलता प्राप्त हुनु झण्डै एक दशक लामो निरन्तर मिहिनेतको प्रतिफल हो,’ उनले भनेका छन्। सुरुवाती वर्षहरूमा प्लेटफर्म स्थापनाका लागि मात्रै काम भएको उनले बताए।







