त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका व्यक्तिहरू सुरुमा भक्कानिएका छन् । शुक्रबार नेपाली सेना र प्रहरीले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट कबिर महर्जन र सञ्जय शाहलाई जीवितै उद्धार गर्न सफल भएको हो । उद्धारमा संलग्न नेपाली सेनाका सेनानी गङ्गा बरालले सुरुमा उनीहरू नबोलेको बताए ।
उनले भने, ‘उद्धार भएकाहरू सुरुमा बोलेनन् एक्कासि रोए ।’ साथै उनले सबै निकायको राम्रो कोअर्डिनेसनबाट उद्धार गर्न सफल भएको बताए । बरालले एनइएको डाटाअनुसार सुरुङको होल एरियामा ४० देखि ५० जना रहेको आफूहरूलाई जानकारी भएको बताए । ‘टनेल खोल्दै जाँदा उहाँहरू बस्नुभएको ठाउँभन्दा ५०–६० मिटर यतै उहाँहरूले हाम्रो आवाज र लाइभ देख्नुभयो होला । र हामी छौ भन्नुभयो’, त्यसपछि आफूहरूले नआत्तिन भनेको डेढ घण्टापछि उद्धार गर्न सफल भएको बताए । उद्धारका क्रममा आफूहरू सफल भएको र नेपालीहरूले नै गर्न खोज्दा सक्ने रहेछन् भन्ने प्रमाणित भएको बरालको भनाइ छ । बरालका अनुसार अझै पनि सुरुङमा मानिसहरू फसेका हुन सक्नेछन् ।







