काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वव्यापी जलवायु परिवर्तनबारे विश्व मञ्चमा कुरा उठाउनुपर्ने बताएका छन् । भोटेकोशी बाढीले प्रभावित जिल्ला अवलोकन गर्न शुक्रबार नुवाकोट पुगेका ओलीले विश्वको ध्यानाकर्षण गर्नुपर्ने बताएका हुन् ।
नेपालले वातावरण बिगार्न कुनै भूमिका नखेले पनि त्यसका मार खेप्नुपरेकाले क्षतिपूर्ति दाबी गर्नुपर्नेमा उनले जोड दिए । ‘जलवायुसम्बन्धी प्रश्न अत्यन्तै गम्भीर प्रश्न हो । यसलाई हामीले संयुक्त राष्ट्रसङ्घ लगायत विभिन्न अन्तर्राष्ट्रिय फोरममा उठाइ आएका छौँ । हामीले वातावरण सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्न सक्नुपर्दछ’, ओलीले भने– ‘र, संयुक्त राष्ट्रसङ्घ लगायत साझा मञ्चबाट क्षतिपूर्तिको कुरा गर्नुपर्छ । किनभने हामीले वातावरणीय क्षति गरेका छैनौँ । क्षतिचाहिँ हामीले बेहोर्नुपरेको छ । त्यसकारण यसमा जसले बिगार्न भूमिका खेलिरहेका छन्, उहाँहरूले क्षतिपूर्ति दिनुपर्छ ।’







