काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै भएको ऐतिहासिक जेनजी आन्दोलनको म्यान्डेटअनुसार वर्तमान सरकारले परिणाम दिन नसकेको बताएका छन्।
गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै अध्यक्ष घिसिङले झन्डै दुईतिहाइ जनमत प्राप्त सरकारले अपेक्षाअनुसार गति लिन नसकेको उल्लेख गरेका छन्।उनले आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। जेनजी आन्दोलन केवल सरकार परिवर्तनका लागि मात्र नभई राजनीतिक संस्कार, शासनशैली र सुशासनका लागि उठेको पुस्ताको आवाज भएको उनले स्पष्ट पारेका छन्।आन्दोलनपछि गठित सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएर राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा फर्काएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै यथावत् छन्।’
अध्यक्ष घिसिङका अनुसार संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने तथा रोजगारी र उद्यमशीलता सिर्जना गर्ने काममा अपेक्षित प्रगति हुन सकेको छैन।
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले थपे, ‘अब केवल भाषण, घोषणा र राजनीतिक नाराले पुग्दैन । जनताले खोजेको परिवर्तन शासन गर्ने व्यक्तिको मात्र होइन, प्रणाली र कार्यशैलीको परिवर्तन हो।’
उज्यालो नेपाल पार्टीले सरकारका कामकारबाहीमा निरन्तर खबरदारी, निगरानी र रचनात्मक दबाब जारी राख्ने जनाएको छ। साथै, जेन–जी आन्दोलनको बलिदानलाई केवल इतिहासमा सीमित नराखी त्यसको म्यान्डेटलाई राज्य सञ्चालनको मार्गदर्शन बनाउनुपर्नेमा घिसिङले जोड दिएका छन्।







