काठमाडौं । मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ माथि आधारित सोही नामको नाटकको मञ्चन अब तालनगरी पोखरामा हुने भएको छ । यसअघि यो नाटकलाई काठमाडौंको कान्तिपुर थिएटरमा १०१ शोज मञ्चन गरिएको छ ।

हालै पूर्वेली सहर विराटनगरमा पनि यो नाटकको मञ्चन भैसकेको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा गरिएका सबै मञ्चनमा दर्शकको उपस्थिती खचाखच थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पनि विशेष अतिथि बनेर नाटक हेर्न गएका थिए । त्यहाँ आयोजना गरिएको मञ्चनबाट संकलित रकमध्ये १ लाख १ हजार रुपैयाँ भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिएको छ ।

काठमाडौं र विराटनगरपछि यो नाटकलाई भदौ २६, २७, २८ र २९ गते गैरपाटनस्थित पोखरा थिएटरमा मञ्चन गर्न लागिएको हो । पोखरामा नाटकको प्रदर्शन जम्मा ४ दिन मात्र हुनेछ । काठमाडौंमै मञ्चन भइरहँदा पोखराका दर्शकले पोखरामा पनि ल्याउनुपर्‍यो भनेर मागेपछि त्यहाँ मञ्चन गर्न लागिएको कान्तिपुर थिएटर प्रमुख प्रकाश पुरीले बताए ।

पोखरामा भदौ २६ गते साँझ ५ बजे पहिलो शो हुनेछ भने भदौ २७, २८ र २९ गते दैनिक बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीन–तीन शो मञ्चन गरिनेछ । पोखरा मञ्चनमा लेखक अमर न्यौपाने पनि सहभागी हुनेछन् ।

मञ्चनपछि साहित्य मन्थन, पुस्तक हस्ताक्षर तथा पोखरेली दर्शकसँग हरेक शोमा अन्तरक्रियात्मक सत्र हुने जनाइएको छ । यो नाटक सुन्दर धितालको निर्देशनमा तयार भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय