काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको बताएका छन् ।
आइतबार र सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठक बसेको थियो । जसमा सभापति थापाले सोमबार पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन् । सभापति थापाले भदौ ५ गते शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्नका लागि समय मागेका थिए । तर थापाले भेट्नका लागि आफूले समय नै नपाएको ब्रिफिङ गरेको एक पदाधिकारीले जानकारी दिए ।‘म सबै पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । त्यसका लागि मैले निवर्तमान सभापतिसँग भेटेर कुरा गर्न चाहेको छु । समय पाएको छैन,’ सभापति थापाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले रातोपाटीसँग भने ।
देउवासँग समय नपाएपछि आफूले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग शनिबार साँझ र नेता डा. शेखर कोइरालासँग आइतबार भेटेको पनि बैठकमा जानकारी गराएका थिए । भेटमा इतर समूहले राख्दै आएका मागका विषयमा कुराकानी भएको थापाको भनाइ थियो ।
थापाले इतर समूहले राख्दै आएको प्रमुख माग भन्दै १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरेका क्रियाशील सदस्यलाई डिजिटल्ली अद्यावधिक गर्ने विषयलाई अनिवार्य नगर्ने निर्णय प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव बैठकले स्विकार्दै निर्णय गरेको छ । तथापि बैठकपछि जारी विज्ञप्तिमा त्यो विषय उल्लेख छैन ।
तर, कांग्रेस प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई सर्तसहित महाधिवेशनमा सहभागी गराउने निर्णय भएको बैठकपछि सञ्चारकर्मीहरूसँग बताएका थिए ।
बैठकमा आगामी असोज १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १५ औँ महाधिवेशनको मिति एक महिना जति सारेर भए पनि पार्टीमा सबैलाई मिलाउनु पर्ने प्रस्ताव आएको थियो । नेता अर्जुननरसिंह केसीले महाधिवेशनको मिति कात्तिकसम्म सारेमा पार्टीमा सहमति हुने र त्यसको नेतृत्व आफूले लिने बताएका थिए । तर, केसीको त्यो प्रस्ताव भने सभापति थापाले स्विकारेनन् ।
केन्द्रीय महाधिवेशनको मिति सर्वोच्च अदालतका कारणले आफूले सार्न नसक्ने थापाले बताएका थिए । सर्वोच्चमा आफूहरूले जवाफ पेस गर्दा असोज १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने उल्लेख गरेकाले सार्न नसक्ने बताएको अर्का बैठकमा सहभागी नेताले बताए ।
तथापि १५ औँ महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनको मिति भने परिमार्जन हुने भएको छ । भदौ २४ गते वडा अधिवेशन सुरु गर्ने निर्णय परिमार्जन गर्ने निर्णय बैठकको छ ।
केन्द्रको महाधिवेशन नसर्ने गरी तल्लो तहका अधिवेशन गर्ने परिमार्जित कार्यतालिका ल्याउने जिम्मेवारी बैठकले पार्टीको निर्वाचन समितिलाई दिएको छ । निर्वाचन समितिको बैठक आजका लागि आह्वान भएको छ ।
त्यो बाहेक बैठकमा महाधिवेशन गर्नका लागि पार्टी विधानमा बाधा अड्काउ फुकाउने विषयमा पनि निर्णय भएको छ । महाधिवेशन गर्नका लागि बाधा नपर्ने गरी कसरी बाधा अड्काउ फुकाउने भन्ने विषयमा कानुनका जानकारसँग छलफल गरेर विज्ञप्ति जारी गरिने केन्द्रीय कार्यालयले जनाएको छ ।







