एक वर्ष बितिसक्यो। तर भदौ २३ र २४ का ती दिन सम्झिँदा मलाई समय एक वर्ष अगाडि बढेको जस्तो लाग्दैन। आँखा चिम्लिँदा अझै त्यही सडक देखिन्छ—चारैतिर युवाहरूको भीड, चर्का नारा, दौडिरहेका मानिसहरू, कसैले पानी बाँडिरहेको दृश्य, कसैले घाइतेलाई काँधमा बोकेको दृश्य र कसैले आफ्नै डर लुकाएर अर्को मान्छेलाई सम्हालिरहेको दृश्य। त्यो दिन सडकमा केवल भीड थिएन, धेरै युवाका सपना पनि थिए।

म पनि त्यही भीडको एउटा सामान्य मान्छे थिएँ।

कुनै पार्टीको झन्डा बोकेको थिइनँ। कसैले पैसा दिएर पठाएको थिएन। कुनै नेतासँग व्यक्तिगत स्वार्थ थिएन। पद चाहिएको थिएन, टिकट चाहिएको थिएन। मलाई चाहिएको एउटै कुरा थियो—यो देशमा केही त बदलियोस्।

वर्षौँदेखि देख्दै आएको भ्रष्टाचार, बेथिति, अवसरको अभाव, युवाको भविष्यप्रतिको अनिश्चितता र अन्ततः सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले त्यो असन्तुष्टिलाई सडकसम्म ल्याएको थियो। त्यसैले म पनि हजारौँ युवाजस्तै आफ्नो आवाज बोकेर सडकमा पुगेको थिएँ।

सुरुमा त्यो सडक असाध्यै फरक थियो। त्यहाँ पार्टीका झन्डाभन्दा नागरिकका हात धेरै थिए। कोही पानी बाँड्दै थियो, कोही घाइते खोज्दै थियो, कोही बाटो छेउमा बसेर थाकेका साथीलाई सम्हाल्दै थियो। स्वयंसेवीहरू प्राथमिक उपचारमा जुटिरहेका थिए। त्यो दृश्य देख्दा मलाई पहिलोपटक लागेको थियो—सायद हाम्रो पुस्ता साँच्चिकै फरक छ। सायद हामी नेता खोज्न होइन, आफ्नो भविष्य खोज्न सडकमा आएका हौँ।

तर केही घण्टामै त्यो विश्वासमाथि धुवाँ चढ्न थाल्यो।

भीड बढ्दै गयो। वातावरण फेरिँदै गयो। ढुंगा चल्न थाले। तोडफोड सुरु भयो। आगो देखिन थाल्यो। सरकारी संरचना, निजी सम्पत्ति र राजनीतिक नेताका निवाससमेत निशानामा परे। केही समयअघिसम्म पानी बाँडिरहेको सडक अचानक आगो र धुवाँले ढाकिन थाल्यो।
त्यो दृश्य आज पनि मेरो मनमा अड्किएको छ।

पानी बाँड्दै सडकमा आएका थिए ,तर देश जलाउनेहरू कहाँबाट आए?

यो प्रश्न आज पनि मेरो लागि केवल प्रश्न होइन, एउटा घाउ हो।
आन्दोलनमा विभिन्न उद्देश्य भएका मानिसहरू मिसिए कि मिसिएनन् भन्ने कुरा अनुसन्धानले प्रमाणित गर्नुपर्ने विषय हो। प्रमाणबिना कसैलाई दोषी ठहर्‍याउन मिल्दैन। तर एउटा कुरा भने म आफ्नै आँखाले देखेको आधारमा भन्न सक्छु—सडकमा आएका सबै युवा आगजनी गर्न आएका थिएनन्। धेरै युवा आफ्नो भविष्यका लागि आएका थिए। धेरैले घाइतेलाई उठाएका थिए। धेरैले डरका बीच पनि अरूलाई बचाएका थिए।
त्यसैले आगो बाल्नेहरूको अपराधलाई सम्पूर्ण जेन–जी पुस्ताको टाउकोमा हाल्नु पनि अन्याय हो र जेन–जीको नाममा भएको हिंसालाई निर्दोष देखाउनु पनि अन्याय हो।

त्यो दुई दिनले एउटै सडकमा दुईवटा नेपाल देखायो—एउटा नेपाल, जहाँ युवाहरू पानी बोकेर एकअर्काको जीवन बचाइरहेका थिए; अर्को नेपाल, जहाँ आगो बलिरहेको थियो। अनि त्यहीबीच राज्यको बल प्रयोगले धेरै परिवारको संसार पनि भत्कियो।
कसैको छोरा घर फर्किएन।
कसैको दाइ अस्पताल पुग्यो।
कसैको साथी कहिल्यै उठेन।
म केही साथीहरू घाइते भएको, मानिसहरू आत्तिएको र केही क्षणमा नै अवस्था नियन्त्रणबाहिर गएको देख्नेहरूमा पर्छु। त्यसैले मेरो लागि त्यो आन्दोलन कुनै समाचारको शीर्षक होइन। त्यो मेरो सम्झनामा बसेको एउटा भारी दिन हो—सडकको धुलोमा मिसिएको डर, घाइतेको पीडा र घर फर्कने आशामा बसेका परिवारहरूको अनुहार।
त्यसैले आगजनी गर्नेहरूको हिसाब हुनुपर्छ।

तर राज्यको बल प्रयोगको हिसाब पनि हुनुपर्छ।
ज्यान गुमाएका युवाको रगतलाई नारा बनाएर राजनीति गर्नुभन्दा पहिले त्यस रगतको न्याय खोजिनुपर्छ।
त्यो सडकको आक्रोश त्यही सडकमा रोकिएन। त्यसले सिधै सत्ताको ढोका हल्लायो।

आन्दोलन चर्किँदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर ९ मा राजीनामा दिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो र सेप्टेम्बर १२ मा संसद् विघटन गर्दै देशलाई २०२६ मार्च ५ को निर्वाचनतर्फ लगियो।

त्यतिबेला धेरैलाई लाग्यो—अब परिवर्तन सुरु भयो।
तर मेरो मनमा त्यही बेला एउटा प्रश्न जन्मिएको थियो—
सरकार फेरिँदैमा शासन गर्ने संस्कार पनि फेरिन्छ?

त्यो प्रश्नको उत्तर केही महिनापछि मतपत्रले दियो।
मार्च ५ मा निर्वाचन भयो। पुराना राजनीतिक शक्तिहरूप्रति लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि मतपत्रमा विस्फोट भयो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका २७५ मध्ये १८२ सिट जित्यो। कांग्रेस ३८ र एमाले २५ सिटमा सीमित भए।
यो केवल चुनावी परिणाम थिएन।
यो एउटा पुस्ताको फैसला थियो।
सडकमा उठेको असन्तुष्टि अब मतपत्रमा पुगेको थियो। वर्षौँदेखि एउटै राजनीतिक चक्र दोहोरिएको देखेका जनताले यसपटक त्यो चक्र तोड्ने प्रयास गरे।

त्यो १८२ सिटमा केवल RSP को शक्ति थिएन। त्यहाँ हजारौँ युवाको आशा थियो।

भ्रष्टाचार कम हुन्छ भन्ने आशा थियो।
रोजगारीको बाटो खुल्छ भन्ने आशा थियो।
सरकारले काम गर्छ भन्ने आशा थियो।
पुरानो शैलीको भागबन्डा दोहोरिँदैन भन्ने आशा थियो।
र सबैभन्दा ठूलो कुरा—अब राजनीति साँच्चिकै बदलिन्छ भन्ने आशा थियो।
त्यसपछि बालेन्द्र शाह प्रधानमन्त्री बने।

बालेन धेरै युवाका लागि केवल एउटा प्रधानमन्त्री थिएनन्। उनी पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टिको प्रतीक बनेका थिए। त्यसैले उनको सत्तारोहणसँगै आशा अझ ठूलो भयो।
तर ठूलो आशासँगै ठूलो जिम्मेवारी पनि आउँछ।
१८२ सिट शक्ति हो, तर त्यो प्रश्नबाट भाग्ने अधिकार होइन।
बरु जनमत जति ठूलो हुन्छ, जवाफदेहिता त्यति नै ठूलो हुनुपर्छ।
यहीँबाट फेरि हाम्रो परीक्षा सुरु भयो।
हिजो हामीले पुराना दललाई किन हटायौँ?

किनकि उनीहरूले जनताको प्रश्न सुनेनन्।
किनकि उनीहरूले संसद्लाई आफ्नो राजनीतिक खेलको मैदान बनाए।
किनकि जनताको मत पाएपछि आफूलाई जनताभन्दा माथि राख्ने संस्कार देखियो।

अब त्यही प्रश्न नयाँ सत्तासँग सोध्नुपर्छ।
र सोध्नैपर्छ।

प्रतिनिधिसभामा ६९ सांसद आवश्यक पर्ने अवस्थामा एकपटक ६१ जना मात्र उपस्थित भए। त्यसमध्ये RSP का १८२ सांसदमा केवल ५२ जना मात्र सदनमा थिए। गणपूरक संख्या नपुग्दा संसद्को काम प्रभावित भयो।

यो सानो कुरा होइन।

हिजो पुराना सांसद सदनमा नआउँदा हामीले प्रश्न गरेका थियौँ। आज नयाँ सांसद नआउँदा प्रश्न गर्न डराउने हो भने हाम्रो आन्दोलनको अर्थ नै के रह्यो?
नयाँ राजनीति भनेको नयाँ चिन्ह मात्र होइन।

नयाँ राजनीति भनेको पुरानो गल्ती दोहोर्‍याउन नमान्ने चरित्र हो।

RSP का सबै सांसदलाई एउटै तराजुमा राख्नु न्यायपूर्ण हुँदैन। धेरै सांसद जिम्मेवार ढंगले काम गरिरहेका पनि छन्। तर केही सांसदको सार्वजनिक व्यवहार, संसद्मा उपस्थितिको अवस्था र आलोचनाप्रतिको प्रतिक्रियाले प्रश्न जन्माएको छ—हामीले साँच्चिकै नयाँ राजनीतिक संस्कार ल्याएका हौँ कि केवल नयाँ अनुहारहरूलाई पुरानो कुर्सीमा बसाएका हौँ?

अझ अर्को कुरा झन् संवेदनशील छ—समर्थकको चरित्र।

केही घण्टी समर्थकहरू सामाजिक सञ्जालमा आफ्नो पार्टी वा नेतामाथिको आलोचनालाई बहसका रूपमा लिनुको सट्टा आलोचक, पत्रकार वा नागरिकमाथि आक्रामक हुने गरेको देखिन्छ। आफ्नै पार्टीमाथि प्रश्न उठ्दा प्रश्नको उत्तर दिनुको सट्टा प्रश्न गर्ने मानिसमाथि नै आक्रमण गर्ने संस्कार बढ्यो भने त्यो नयाँ राजनीति हुन सक्दैन।

हिजो हामी कांग्रेसका अन्धसमर्थकको आलोचना गर्थ्यौँ।
एमालेका अन्धसमर्थकको आलोचना गर्थ्यौँ।
माओवादीका अन्धसमर्थकको आलोचना गर्थ्यौँ।
आज घण्टीको नाममा त्यही प्रवृत्ति दोहोरियो भने फरक के रह्यो?
चिन्ह फेरियो।
नारा फेरियो।
अनुहार फेरियो।
तर सोच फेरिएन भने राजनीति कहाँ फेरियो?

घण्टीलाई मत दिने जनताले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन—मत दिएको हो, विवेक बुझाएको होइन।
आफूले रोजेको पार्टीलाई प्रश्न गर्नु विश्वासघात होइन।
आफूले रोजेको नेताको गल्ती देख्नु पार्टीविरोध होइन।
बरु गल्ती देखेर पनि चुप बस्नु नै नागरिकप्रतिको बेइमानी हो।
यही कुरा प्रधानमन्त्री बालेन्द्र शाहमाथि पनि लागू हुन्छ।

बालेनलाई प्रश्न गर्नु बालेनको विरोध गर्नु होइन। बालेनलाई प्रश्न गर्न सक्नु नै उनले दाबी गरेको नयाँ राजनीतिक संस्कारको परीक्षा हो।

संसद् जनताको प्रश्नबाट भाग्ने ठाउँ होइन। प्रधानमन्त्री संसद्को नेता हुन्। सरकारका निर्णय, नीति र कामबारे जवाफ दिनुपर्ने ठाउँ पनि यही हो।
तर पछिल्ला महिनाहरूमा बालेनको संसद् उपस्थितिलाई लिएर प्रश्न उठेका छन्। अप्रिल २ देखि जुलाई १५ सम्मका ४१ बैठकमध्ये उनी केवल ६ बैठकमा उपस्थित भएको विवरण सार्वजनिक भएको छ।

यहाँ प्रश्न उनको एउटा दिनको अनुपस्थितिको होइन।
प्रश्न संस्कारको हो।

हिजो पुराना नेताहरू संसद्मा नआउँदा हामीले प्रश्न गरेका थियौँ। आज त्यही प्रश्न नयाँ प्रधानमन्त्रीमाथि उठ्दा हामीले आँखा चिम्लिने हो भने हामीले आन्दोलनबाट के सिक्यौँ?
बालेन प्रधानमन्त्री बनेपछि उनलाई देवता बनाउने होइन, जवाफदेही बनाउने हो।
RSP ले १८२ सिट पाएपछि त्यसलाई ताली बजाएर सकाउने होइन, त्यो १८२ सिटले देशलाई के दियो भनेर हिसाब माग्ने हो।

किनकि त्यो १८२ सिट कुनै नेताको निजी सम्पत्ति होइन।
त्यो जनताको विश्वास हो।
र विश्वासमाथि सबैभन्दा ठूलो सम्मान भनेको प्रश्न हो।
यही ठाउँमा मलाई फेरि त्यो सडक सम्झना आउँछ।
हामी कुनै व्यक्तिलाई भगवान बनाउन सडकमा गएका थिएनौँ
हामी कसैलाई सधैँका लागि मालिक बनाउन गएका थिएनौँ।
हामी त यस्तो देश चाहन्थ्यौँ, जहाँ प्रधानमन्त्रीलाई पनि प्रश्न गर्न सकियोस्, मन्त्रीलाई पनि प्रश्न गर्न सकियोस्, सांसदलाई पनि प्रश्न गर्न सकियोस् र पत्रकारले प्रश्न गर्दा उसको कलममाथि रिस नउठोस्।

हामीले चाहेको परिवर्तन यति मात्रै थियो—सत्ता बदलियोस् भन्दा पहिले सत्ताको चरित्र बदलियोस्।
त्यसैले जेन–जी आन्दोलनको अर्थ केवल ओलीको राजीनामा होइन।
केवल अन्तरिम सरकार होइन।
केवल संसद् विघटन होइन।
केवल निर्वाचन होइन।
केवल १८२ सिट होइन।
र केवल बालेन प्रधानमन्त्री बन्नु पनि होइन।
ती सबै एउटै यात्राका अध्याय हुन्।
सडकमा उठेको आक्रोशले ओलीको राजीनामा ल्यायो।
त्यसपछि अन्तरिम सरकार आयो।
अन्तरिम सरकारले निर्वाचनको बाटो खोल्यो।
निर्वाचनले पुराना शक्तिलाई पछाडि पार्दै RSP लाई १८२ सिट दियो।
१८२ सिटले बालेनलाई प्रधानमन्त्री बनायो।
अब त्यो सबै परिवर्तनको अर्थ प्रमाणित गर्ने जिम्मेवारी यही सरकारको काँधमा छ।
त्यसैले आज प्रश्न झन् ठूलो भएको छ—
ओली गएर के बदलियो?
अन्तरिम सरकार आएर के बदलियो?
निर्वाचन भएर के बदलियो?
१८२ सिट आएर के बदलियो?

बालेन प्रधानमन्त्री भएर के बदलियो?

यदि युवाको भविष्य अझै उस्तै अनिश्चित छ, रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता उस्तै छ, भ्रष्टाचारसँगको लडाइँ कमजोर छ, नागरिकले सरकारी सेवाका लागि उही दुःख भोग्नुपर्छ, संसद् पर्याप्त रूपमा चल्दैन र आलोचना गर्ने नागरिकलाई फेरि विरोधी ठानिन्छ भने हामीले खोजेको परिवर्तन कहाँ छ?

किनकि हामी देश जलाउन सडकमा आएका थिएनौँ।
हामी देश बनाउन सडकमा आएका थियौँ।
हामी कुर्सीमा बसेको मान्छे मात्र बदल्न गएका थिएनौँ। कुर्सीमा बस्ने मान्छेको सोच बदलियोस् भनेर गएका थियौँ। हामीले एउटा पार्टीलाई हटाएर अर्को पार्टी ल्याउन मात्र सडकमा पाइला राखेका थिएनौँ। हामीले देश चलाउने तरिका बदलियोस् भन्ने चाहेका थियौँ।

त्यसैले आज एक वर्षपछि फर्केर हेर्दा मेरो आँखामा आन्दोलनको सबैभन्दा बलियो तस्वीर अझै पनि आगोको होइन, पानीको हो।

घाइतेलाई उठाएको हात सम्झिन्छु।
आफू डराएर पनि अरूलाई बचाउन दौडिएको त्यो पुस्ता सम्झिन्छु।
अनि ती अनुहार सम्झिन्छु, जो सडकबाट फर्किएनन्।
त्यो सम्झनाले एउटा कुरा सिकाउँछ—त्यो आन्दोलनको मूल्यसस्तो थिएन।
त्यसैले त्यो मूल्यलाई केवल एउटा चुनाव जितेर पूरा भएको मान्न मिल्दैन।

यदि हामी फेरि उही अन्धसमर्थनमा फर्कियौँ भने आन्दोलनको आत्मालाई धोका हुन्छ।
यदि आफ्नै रोजेको सरकारलाई प्रश्न गर्न सकेनौँ भने आन्दोलनको अर्थ कमजोर हुन्छ।
यदि पुरानो राजनीतिक संस्कार नयाँ नाममा फर्कियो भने सडकमा बगेको रगतको अर्थ हामीले आफैं सानो बनाएका हुनेछौँ।

हामीले त्यो दिन देश जलाउन पाइला राखेका थिएनौँ।
हामीले देश बनाउन पाइला राखेका थियौँ।
हामीले कसैलाई मालिक बनाउन आन्दोलन गरेका थिएनौँ।
हामी आफैं नागरिक भएर बाँच्न सक्ने देश बनाउन आन्दोलन गरेका थियौँ।

र एक वर्षपछि पनि मेरो मनमा त्यही प्रश्न छ—

त्यो दिन सडकमा बगेको रगत, देखेको पीडा र बोकेको आशाको मूल्यमा हामीले साँच्चिकै नयाँ नेपाल बनाउँदैछौँ, कि केवल पुराना कुर्सीमा नयाँ अनुहार बसालिरहेका छौँ?
यदि उत्तर दोस्रो हो भने, आन्दोलन सकिएको छैन।
किनकि जेन–जीको वास्तविक परीक्षा सडकमा होइन।

अब परीक्षा सत्तालाई प्रश्न गर्ने हाम्रो साहसमा छ।

0% LikesVS
100% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय