काठमाडौं । ‘जेनजी सहिद दिवस’का अवसरमा नेपालस्थित अमेरिकी र बेलायती दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसका अवसरमा अमेरिकी दूतावासले सन्देश जारी गर्दै नेपाली युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गरेको छ ।दूतावासले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति समेत सहानुभूति व्यक्त गरेको छ । कठिन परिस्थितिमा नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दूतावासले साझा शोकको यस घडीमा अमेरिका नेपाली जनताको अटल मित्र र साझेदारका रूपमा साथमा रहेको जनाएको छ ।सन्देशमा भनिएको छ, ‘यो स्मृति दिवस हालैका विनाशकारी बाढीपश्चात् विश्वभरका विभिन्न समुदाय नेपालसँगै शोकमा रहेको समयमा आएको छ । साझा शोकको यस घडीमा अमेरिका नेपालका जनताको अटल मित्र तथा साझेदारका रूपमा अडिग छ ।’
सरकारले भदौ २३ गते (सेप्टेम्बर ८) लाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदासमेत दिएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानलाई स्मरण गर्दै देशभर विभिन्न श्रद्धाञ्जली कार्यक्रम आयोजना भइरहेका छन् ।
यस्तै, काठमाडौंस्थित बेलायती दूतावासले पनि जेनजी सहिद दिवसका अवसरमा श्रद्धाञ्जली सन्देश जारी गरेको छ । सन् २०२५ सेप्टेम्बरमा भएको युवा आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाली युवाको सम्झनामा बेलायतले गहिरो दुःख व्यक्त गरेको हो ।
दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवार तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
सन्देशमा भनिएको छ, ‘सन् २०२५ सेप्टेम्बरका घटनाहरूका क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा आयोजित ‘जेनजी सहिद दिवस’का अवसरमा हामी उहाँहरूका परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’
स्मरण र आत्मसमीक्षाको यस घडीमा बेलायत सधैँ नेपाली जनताको साथमा रहने प्रतिबद्धता समेत दूतावासले जनाएको छ ।







