सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्कीले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका बुवा पदम कार्कीको किरिया गरेकी छिन्।

विद्यालय जाने उमेरमा बुवाको किरिया बसेकी खुस्बुले दाजुभाई नरहेको र १४ वर्षीया दिदीको स्वास्थ्य ठीक नभएका कारण आपूmले किरिया बसेको बताईन्। हेलम्बुको मेलम्चीघ्याङ माविमा कक्षा ६ मा अध्ययनरत उनले बुवा बाढीमा बेपत्ता भएको खबर पाए पछि विद्यालय छोडेर घर आएको बताईन्। ‘मैले बाढी गएको शिक्षकहरुबाट ११ गते थाहा पाएँ, उहाँहरुबाटै मेरो बुवा पनि बेपत्ता हुनुभएको छ भन्ने थाहा पाएँ र घर आएँ,’ उनले भनिन्।

बुवाको शवसमेत फेला नपरेको अवस्थामा काजकिरिया गर्नुपर्दा खुश्बुको मनमा पीडा र अन्योल दुबै छ। बुवा जीवितै हुनुहुन्छ कि हुनुहुन्न भन्ने यकिन नहुँदा परिवारका सदस्यहरू पनि गहिरो शोकमा छन् । तर, हिन्दु संस्कारअनुसार बुवाप्रतिको कर्तव्य पूरा गर्नुपर्छ भन्ने भावनाले आपूm कोरा बसेको उनको भनाई छ । तर अझै आपूmलाई बुवा फर्किएर आउनुहुन्छ भन्ने लाग्ने गरेको उनले सुनाईन्।

‘हाम्रो परम्परा अनुसार बुवाको १३ दिनको कामकाज गर्दा उहाँले मोक्ष पाउनुहुन्छ भन्ने लागेर किरिया बसेको हुँ । दाजुभाइ नभए पनि बुवाको शोकमा मैले जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘तर बुवा कुनै बेला फुत्त आइहाल्नुहुन्छ कि जस्तो पनि लाग्छ।’ रसुवाबाट काठमाडौं सामान ल्याउँदै गर्दा पदम भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए ।
रसुवाको भन्सारमा मालवहाक कन्टेनर चलाउँदै आएका पदम परिवार पाल्ने मूख्य आधार थिए ।सामान्य आर्थिक अवस्था रहेको कार्की परिवारको घरखर्च चलाउने र दुई छोरीको पालनपोषण गर्ने मूख्य आधार नै पदमको ड्राइभिङ पेसा थियो । दुई छोरीका लागि पदम केवल बुवा थिएनन्, सिंगो परिवारको भरोशा र भविष्यका आधार थिए । छोरीहरूलाई पढाउने, घरखर्च जुटाउने र परिवारको भविष्य बनाउने जिम्मेवारी बोकेर उहाँले २ दशकदेखि कन्टेरनर चलाउदै आएका थिए।

खुश्बुलाई बुवाको अवस्था के भयो भन्ने थाहा छ न त शव फेला परेको छ । बुवाको मृत्यु पुष्टि नभएकै अवस्थामा खुश्बुलाई किरियामा राख्ने निर्णय परिवारका लागि सहज थिएन । तर बुवाप्रतिको कर्तव्य पूरा गर्न आफू तयार रहेको उनको भनाई छ । पदम घर फर्किने बाटो हेर्दै बसेका परिवारका सदस्यका लागि बितेको हरेक दिन झन् कठिन बन्दै गएको छ । बाढीले धेरै परिवारलाई आफन्तविहीन बनाएको छ । धेरै घरमा आज पनि बेपत्ताको खोजी जारी छ । आफन्त फर्केर आउने आशामा धेरै परिवार दिनरात बाटो हेरिरहेका छन्।

शिक्षाको जिम्मा नगरपालिकाले लिने

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले रसुवा बाढीमा बुबा गुमाएर काजकिरिया गरिरहेकी बाह्रबिसे नगरपालिका– ३ की ११ वर्षीया खुश्बु कार्कीलाई भेटेर नगरपालिकाले उनको शिक्षाको जिम्मेवारी लिने जानकारी दिए।

रसुवा बाढीमा बाह्रबिसे नगरपालिकाका ६१ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकाहरूको खोजी गर्दा पनि फेला नपरेपछि केहीको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । सोही क्रममा बाह्रबिसे नगरपालिका– ३ का पदम कार्कीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । उनकी ११ वर्षीया छोरी खुश्बुले बुबाको काजकिरिया गरेकी छिन् । पदम कार्की बाढीमा सम्पर्कविहीन भएपछि उनका दुई छोरीसहित बाढीमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको पूर्ण जिम्मेवारी नगरपालिकाले लिने नगरप्रमुख बस्नेतले बताए।

खुश्बु र उनकी दिदी खुशी कार्कीको स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी नगरपालिकाले लिने बताउँदै नगरप्रमुख बस्नेतले रसुवा बाढीमा सम्पर्कविहीन भएका अभिभावकका छोराछोरीको शिक्षाको जिम्मेवारीसमेत नगरपालिकाले लिने बताए। रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले केन्द्र सरकार र सुरक्षा निकायसँग समन्वय गरिरहेको उनले बताए। बाढीमा सम्पर्कविहीन भएका व्यक्तिका परिवारलाई जनही एक लाख १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत भएको नगरप्रमुख बस्नेतले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय