काठमाडौँ । फोल्डेबल स्मार्टफोनको बजारमा करिब सात वर्षदेखि अग्रणी रहँदै आएको सामसङलाई अब एप्पलले प्रत्यक्ष चुनौती दिने तयारी गरेको छ ।
सन् २०१९ मा ‘ग्यालेक्सी फोल्ड’ सार्वजनिक गरेर फोल्डेबल फोनको बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको सामसङको बजारमा एप्पल पहिलोपटक प्रवेश गर्न लागेको हो ।एप्पलले बुधबार विशेष कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा कम्पनीले आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्न सक्ने बताइएको छ । फोल्डेबल फोन कुनै समय महँगो र प्रयोगात्मक प्रविधिका रूपमा मात्र हेरिन्थ्यो । अहिले भने यो प्रिमियम स्मार्टफोन बजारको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । यस परिवर्तनमा सामसङको भूमिका प्रमुख मानिन्छ । कम्पनीले ग्यालेक्सी जेड फोल्ड र ग्यालेक्सी जेड फ्लिप शृंखलामार्फत लगातार आफ्नो प्रविधि सुधार गर्दै आएको छ ।
अनुभवमा सामसङ अगाडि
फोल्डेबल फोनको बजारमा सामसङको सबैभन्दा ठूलो शक्ति उसको लामो अनुभव हो । सुरुवाती पुस्ताका फोनमा स्क्रिनको टिकाउपन, हिन्ज र सफ्टवेयरमा विभिन्न समस्या देखिए पनि कम्पनीले क्रमशः सुधार गर्दै आएको छ ।
सन् २०२६ मा सामसङले ‘ग्यालेक्सी जेड फोल्ड ८’ ‘ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, र ‘ग्यालेक्सी जेड फ्लिप ८’ सार्वजनिक गरेको छ । नयाँ पुस्ताका उपकरणमा कम्पनीले ठूलो डिस्प्ले, धेरैखाले काम गर्ने क्षमता, क्यामेरा, टिकाउपन तथा एआईमा आधारित सुविधालाई प्राथमिकता दिएको छ ।
भारतमा समेत सामसङका नयाँ फोल्डेबल फोनप्रति उल्लेख्य माग देखिएको कम्पनीको दाबी छ । ‘ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, जेड फोल्ड ८ र जेड फ्लिप ८ ले सार्वजनिक भएको पहिलो ७२ घण्टामै २ लाख ७१ हजारभन्दा बढी प्रि–अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षका मोडलले त्यति प्रि–अर्डर प्राप्त गर्न १५ दिन लगाएका थिए ।
यस वर्षको कुल प्रि–अर्डरमध्ये ४५ प्रतिशत दोस्रो स्तरका सहर र त्यसभन्दा बाहिरका क्षेत्रबाट आएको सामसङले जनाएको छ । यसले फोल्डेबल फोनको माग ठूला सहरमा मात्र सीमित नरहेको संकेत गर्छ ।
पहिलोपटक फोल्डेबल आईफोन
एप्पलका लागि फोल्डेबल फोन बजार नयाँ क्षेत्र हुनेछ । तर कम्पनीले बजारमा ढिलो प्रवेश गरे पनि आफ्नो बलियो आईफोन प्रयोगकर्ता आधार र सफ्टवेयर इकोसिस्टमको फाइदा उठाउन सक्ने अपेक्षा गरिएको छ ।
रिपोर्टअनुसार एप्पलको पहिलो फोल्डेबल आईफोनको मूल्य करिब २ हजार ५०० अमेरिकी डलर (तीन लाख ७७ हजार नेपाली रुपैँया) हुन सक्ने अनुमान गरिएको छ ।
एप्पलले विगतमा पनि प्रतिस्पर्धी कम्पनीहरू प्रवेश गरिसकेको बजारमा आफ्नै शैलीमा प्रवेश गरेर सफलता हासिल गरेको छ । फोल्डेबल आईफोनमा पनि हार्डवेयर, अपरेटिङ सिस्टम र एपहरूको समग्र अनुभवलाई कम्पनीले आफ्नो प्रमुख शक्ति बनाउन सक्ने विश्लेषण गरिएको छ ।
काउन्टरप्वाइन्ट रिसर्चको अनुमानअनुसार एप्पलले सन् २०२६ मै विश्वव्यापी फोल्डेबल स्मार्टफोन बजारको करिब २५ प्रतिशत हिस्सा हासिल गर्न सक्छ । त्यस्तो भएमा ३८ प्रतिशत हिस्सासहित सामसङ पहिलो र एप्पल दोस्रो स्थानमा रहने अनुमान छ । हुआवैको सम्भावित हिस्सा २२ प्रतिशत अनुमान गरिएको छ ।
चिनियाँ कम्पनी पनि बलियो प्रतिस्पर्धी
त्यसो त फोल्डेबल फोनको प्रतिस्पर्धा सामसङ र एप्पलबीच मात्र सीमित हुने छैन । चीनका हुआवै र शाओमी पनि यस क्षेत्रमा तीव्र रूपमा अघि बढिरहेका छन् । हुआवैले सेप्टेम्बर २०२६ मा मेट एक्सटी२ शृंखला सार्वजनिक गरेको छ । यो फोन दुईपटक मोडिन सक्छ र खोल्दा ट्याबलेट आकारको डिस्प्ले बन्ने दाबी गरिएको छ । चीनको फोल्डेबल बजारमा हुआवैको पकड निकै बलियो छ ।
सन् २०२६ को दोस्रो त्रैमासिकमा चीनको फोल्डेबल फोन बजारमा हुआवैको हिस्सा ६८ प्रतिशत रहेको स्रोतमा उल्लेख छ । यसले एप्पल र सामसङ दुवैका लागि चिनियाँ बजारमा ठूलो चुनौती देखाउँछ ।
साओमीले पनि साओमी १८ फोल्ड सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसको तौल २१९ ग्राम र मोटाइ ५.०२ मिलिमिटर छ । साओमीले हलुका डिजाइन र तीव्र प्रतिक्रियालाई यसको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरेको छ ।
निर्णायक शक्ति इकोसिस्टम
फोल्डेबल फोनको आगामी प्रतिस्पर्धा केवल क्यामेरा, स्क्रिन वा हार्डवेयरमा सीमित नहुने देखिन्छ । सामसङसँग फोल्डेबल हार्डवेयर विकासको लामो अनुभव छ भने एप्पलसँग विश्वभर फैलिएको आईफोन प्रयोगकर्ता आधार र बलियो इकोसिस्टम छ ।
एप्पलले आफ्ना विद्यमान आईफोन प्रयोगकर्तालाई फोल्डेबल फोनतर्फ आकर्षित गर्न सकेमा कम्पनीले छोटो समयमै उल्लेख्य बजार हासिल गर्न सक्छ । अर्कोतर्फ, सामसङसँग धेरै पुस्ताको अनुभव र बजारमा स्थापित उत्पादन शृंखला भएकाले उसको अग्रता तत्काललाई कायमै रहने आकंलन गर्न सकिन्छ ।
त्यसैले ९ सेप्टेम्बरको एप्पल कार्यक्रम केवल नयाँ आईफोन सार्वजनिक हुने कार्यक्रम मात्र नभई फोल्डेबल स्मार्टफोन बजारको आगामी शक्ति–सन्तुलन निर्धारण गर्ने महत्वपूर्ण क्षण बन्न सक्ने देखिन्छ । एप्पलको प्रवेशले सामसङको नेतृत्वलाई चुनौती दिनेछ भने हुआवै, साओमीजस्ता चिनियाँ कम्पनीको उपस्थितिले प्रतिस्पर्धालाई अझ तीव्र बनाउनेछ ।






