काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्।
बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर: सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले यस्तो दाबी गरेकी हुन्।चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको उनले बताएकी छन्। नयाँ सरकार गठन भएपछि दिउँसो सुधन गुरुङ गृहमन्त्री बनेको खबर आएलगत्तै आफूले ओलीलाई तत्काल गिरफ्तार गरिने शंका गरेको उनले बताइन्। उनले भनिन्, ‘खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै हो। उनीहरूलाई सम्मान भनेको के हो भन्ने सायद थाहा छैन।’ गृहमन्त्री नियुक्तिको सन्दर्भ जोड्दै उनले थपिन्, ‘दिउँसो सुधन गुरुङ भन्ने गृहमन्त्रीमा नियुक्त भयो रे भन्ने कुरा सुन्नासाथ मैले त शंका गरेको थिएँ, अब तुरुन्तै यिनीहरूले केपी सरलाई गिरफ्तार गर्छन् भनेर।’
ठुलो संख्यामा प्रहरी परिचालन गरेर रातको समयमा बालकोट क्षेत्रलाई घेराबन्दी गरी पूरै गाउँ नै कब्जा गरेर ओली र लेखकलाई गिरफ्तार गरिएको शाक्यले दाबी गरेकी छन्। उनले उक्त घटनालाई प्रतिशोधको राजनीतिको संज्ञा दिएकी छन्।
त्यस क्रममा ओली निवासमा खानतलासी हुने हल्ला फैलाएर परिवार र स्थानीयवासीमा समेत आतङ्क सिर्जना गरिएको आरोप पनि उनले लगाएकी छन्।






