काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल थालेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनले विकास साझेदारहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन् ।
मन्त्रालयका अनुसार बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा हुनेछ ।
यसअघि अर्थमन्त्रीले राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्–पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्याङ्कनबारे मंगलबार छलफल गरेका थिए ।






