काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन् ।
कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका हुन् ।
‘जिल्ला, गाउँ, सबै ठाउँमा भ्रममा परेका जो साथी होलान् सबैलाई आफ्नो पक्षमा ल्याउँदै म पनि छिट्टै नै देशभरि घुम्छु,’ देउवाले भने ।
पूर्वसभापति देउवाले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिल्नेमा विश्वस्त रहेको पनि बताए ।
‘म देशभरि घुमेर फेरि जनताको पक्षमा जाने विश्वास दिलाउँदै, जो लाग्नु भएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिँदै फेरि पनि सर्वोच्च अदालतबाट हामीलाई न्याय मिल्ने छ भन्ने विश्वास व्यक्त गर्छु,’ उनले भने ।
विदेशबाट उपचार गरेर स्वदेश फर्किँदा पाएको माया आफूले मात्रै नभएर सबै कांग्रेसका सच्चा कार्यकर्ताले पाएको देउवाको भनाइ थियो ।
‘म काठमाडौं आउँदा जुन किसिमको नेपाली जनताको माया, सद्भावना र समर्थन मैले पाप्त गरेँ । त्यो मैले पाएको होइन, सबै साथीहरूले पाउनुभएको हो नि,’ उनले भने, ‘तपाईंहरूले पाउनुभएको हो । नेपाली कांग्रेसका सच्चा कार्यकर्ताले पाउनुभएको हो ।’
देउवाले जनताले दिएको मायालाई सबैले आफूले पाएको माया सम्भिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘त्यसकारण हामी सबै लागेर जनताले दिएको मायालाई हामी सबैले आफूले पाएको माया भनिठानेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
देउवाले १० भदौमा रसुवाको भोटेकोशी बाढीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति दु:ख पनि व्यक्त गरे ।






