भारतका विभिन्न स्थानबाट उद्धार गरी भैरहवा ल्याइएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई आज आफन्तको जिम्मा लगाइएको छ ।

बाँकी पाँच जनालाई पनि अभिभावकको जिम्मा लगाउने प्रक्रिया भइरहेको छ ।भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट फरक–फरक समयमा उनीहरूको उद्धार गरिएको हो । उद्धार गरिएका उनीहरूलाई रुपन्देहीको भैरहवा ल्याएर प्रशासनको रोहवरमा आफन्तको जिम्मा लगाइएको ‘किन इन्डिया’का निर्देशक नवीन जोशीले  बताए ।उनका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका छन् भने तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन् । ‘अहिले साँझ ५ बजेसम्म १० जनालाई घरपरिवारको जिम्मा लगाइसकेका छौँ । अझै पाँच जना बाँकी छन्,’ जोशीले भने ।

बाँकी पाँचमध्ये दुई बालिका र तीन जना बालक छन् । अछामका दुई जनालाई ‘किन इन्डिया’ले भारतबाट नेपाल फर्कंदा उनीहरूको घरमै पुर्‍याएर आफन्तको जिम्मा लगाउने तयारी गरेको छ । एक जना पाल्पाका तथा दुई जना मधेस प्रदेशका भएकाले उनीहरूका अभिभावक भैरहवा आउँदै गरेको जोशीले जानकारी दिए ।

उद्धार गरिएकामध्ये केही बालकलाई मदरसामा पढाउने भन्दै अवैध रूपमा भारत लगिएको पाइएको छ । उनीहरू जोखिमपूर्ण तथा नियमविपरीत अवस्थामा रहेको जानकारी पाएपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरीको सहयोगमा सम्बन्धित मदरसामा छापा मारेर उनीहरूको उद्धार गरिएको जोशीले बताए ।

भारतका विभिन्न स्थानबाट उद्धार गरेपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो । आवश्यक प्रक्रिया पूरा गरेपछि सुरक्षित रूपमा नेपाल ल्याएर परिवार तथा आफन्तसँग पुनर्मिलन गराउन लागिएको जोशीले  बताए ।

बालबालिकालाई नेपाल ल्याउने क्रममा ‘किन इन्डिया’का कर्मचारीसँगै भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल पनि सहभागी थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय