रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ ठुलो सुक्खा पहिरो खसेको हो । नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी, धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ ।पहिरोका कारण काठमाडौँ, नुवाकोट हुँदै रसुवा सदरमुकाम धुन्चे जाने तथा धुन्चेबाट फर्कने यात्रु बाटोमै अलपत्र परेका छन् । राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधन तथा टोलीसमेत सडक अवरुद्ध भएपछि रोकिएका छन् ।पहिरो पन्छाउन दुई वटा डोजर पुगेका छन् र सडक खुलाउने प्रयास भइरहेको छ ।






