इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने र त्यसपछि तेलको मूल्य पनि तीव्र रूपमा घट्ने दाबी उनले गरेका छन् ।

बुधबार टेक्सासतर्फ जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले तेहरानले लामो समयसम्म युद्ध धान्न नसक्ने दाबी गरे । उनले भने, ‘निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने त्यसबेलासम्म इरानले धान्न सक्ने अवस्था रहने छैन,’ । ट्रम्पका अनुसार अहिले बढिरहेको तेलको मूल्य पनि मध्यावधि निर्वाचनअघि घट्ने सम्भावना कम छ । पछिल्लो समय पश्चिम एशियामा युद्ध चर्किएपछि बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको थियो । यो जुलाईपछि पहिलोपटक तेलको मूल्य १०० डलर पुगेको हो ।

‘चुनावको लगत्तै, तेलको मूल्य घट्दै जानेछ,’ ट्रम्पले पत्रकारहरूलाई भने । ‘मलाई लाग्छ यसले मध्यावधि भन्दा अलि बढी समय लिनेछ,’ । अझ अगाडि उनले भनेका छन् । इरानले अमेरिकी निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको आरोप पनि ट्रम्पले लगाएका छन् ।

उनका अनुसार तेहरानले अमेरिकी निर्वाचनबाट आफ्नो पक्षमा कमजोर समूह सत्तामा ल्याउने प्रयास गर्न सक्नेछ । ट्रम्पले डेमोक्र्याटतर्फ संकेत गर्दै यस्तो समूह आएमा इरानलाई आफ्नो आणविक हतियार विकास गर्न सहज हुने दाबी गरेका छन् । तर इरानले आफू आणविक हतियार निर्माण गर्ने प्रयासमा रहेको आरोप पटक–पटक अस्वीकार गर्दै आएको छ ।

आगामी मध्यावधि निर्वाचनअघि रिपब्लिकन पार्टीको पहिलो सम्मेलनमा सहभागी हुन टेक्सास पुगेको बेलामा ट्रम्पको यी अभिव्यक्ति आएका हुन् । नोभेम्बरमा हुने निर्वाचनले अमेरिकी प्रतिनिधिसभा र सिनेटमा रिपब्लिकनको नियन्त्रण कायम रहने वा डेमोक्र्याटले शक्ति फिर्ता लिने भन्ने निर्धारण गर्नेछ । यसैबीच, इरानसँगको युद्धलाई लिएर ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट समेत दबाब बढिरहेको छ । युद्धका कारण इन्धनदेखि खाद्यान्नसम्मको मूल्य बढेपछि ट्रम्पको लोकप्रियता घटिरहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

ट्रम्पले यसअघि इरानसँगको युद्ध केही सातामै समाप्त हुने अनुमान गरेका थिए । तर युद्ध सातौँ महिनामा प्रवेश गरिसकेको छ । पछिल्ला दिनमा मध्यपूर्वमा लडाइँ झनै तीव्र बनेको छ । बुधबार अमेरिकी सेनाले इरानसँग सम्बन्धित पाँचवटा तेल ट्यांकरमाथि आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले स्ट्रेट अफ होर्मुजमा दुई अमेरिकी नौसैनिक विध्वंसक जहाज र आठवटा तेल ट्यांकरमाथि आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ । ती आक्रमणबाट जहाजहरूमा ठूलो क्षति पुगेको बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय