काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले जलवायु परिवर्तनको मारमा नेपाल परेको तर त्यसको क्षतिपूर्ति दाबी गर्न सरकार चुकेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समयमा कर्णले जलवायु न्याय नेपालको निजी मुद्दा नभई राष्ट्रिय सरोकारको विषय भएको भन्दै यसमा एकजुट भएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

सांसद कर्णले विश्वको तापक्रम वृद्धिमा नगण्य योगदान पुर्‍याएको नेपालले जलवायु परिवर्तनको असरबाट अत्यधिक मूल्य चुकाइरहेको बताए। ‘नेपालीमा एउटा उखान छ— नखाएको विष लाग्दैन। तर नेपाललाई नखाएको विष लाग्यो,’ उनले भने, ‘हामीले आफ्ना नागरिकको ज्यान, बगेका पुल, भत्किएका घर, नष्ट भएका जलविद्युत र हराएको खेतीयोग्य जमिनबाट जलवायु परिवर्तनको मूल्य तिरिरहेका छौँ।’उनले जलवायु क्षतिपूर्तिको दाबी गर्न नेपाल सरकारले औपचारिक कूटनीतिक पहल नगरेपछि आफूले राष्ट्रिय सभा सदस्यको हैसियतले संयुक्त राष्ट्रसंघ र जलवायु कोषलाई पत्र पठाएको जानकारी दिए।गृहमन्त्रीको भनाइप्रति लक्षित गर्दै सांसद कर्णले भने, ‘हामीलाई जलवायु न्याय प्राप्त गर्न ठुलो स्वर, विश्वको सर्वोत्कृष्ट ओरा र ह्यान्डसम अनुहारभन्दा बढी अन्यायको बलियो प्रमाण चाहिन्छ।’ उनले भदौ १० गतेको विनाशकारी बाढीको वैज्ञानिक अनुसन्धान गर्न र त्यसलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सरकारलाई सुझाव दिए।

प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसङ्घीय महासभा भ्रमणको प्रसङ्ग उठाउँदै कर्णले भने, ‘प्रधानमन्त्रीज्यू, संयुक्त राष्ट्रसङ्घमा नेपालको एउटा कुर्सीमा तपाईं बस्ने हो, तर तपाईंले सिङ्गो संसद् र राष्ट्रको म्यान्डेट बोकेर जानुपर्छ।’

उनले जलवायु न्यायको मुद्दामा सरकारले सर्वदलीय परामर्श गर्नुपर्ने र संसद्बाट साझा राष्ट्रिय सङ्कल्प प्रस्ताव पारित गरेर विश्वलाई नेपाल एकजुट छ भन्ने सन्देश दिनुपर्नेमा जोड दिए। ‘प्रधानमन्त्री एक्लै बोल्दा संसारले सरकारको धारणा सुन्छ, तर सरकार, विपक्षी र विज्ञ एउटै मञ्चमा उभिँदा सिङ्गो राष्ट्र बोलिरहेको देखिन्छ,’ उनले भने।

कर्णले भदौ १० को महाविपद्ले चेतावनी दिएको भन्दै खतरामा रहेका २१ वटा हिमताल र त्यसमाथि आश्रित बस्तीहरूको सुरक्षामा गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराए। उनले विपद्को जोखिममा रहेका बस्तीहरूको सम्मानजनक पुनर्वासका लागि जापान र इन्डोनेसियाका उदाहरण प्रस्तुत गर्दै स्थानीय सरकारले ‘रिसेटलमेन्ट प्लानिङ’मा काम गर्नुपर्ने खाँचो औँल्याए।

‘पुनर्वास भनेको मानिसलाई एउटा ठाउँबाट अर्कोमा फाल्ने होइन, रोजगारी, शिक्षा र संस्कृतिको सुरक्षा गर्ने हो,’ उनले भने ।

कर्णले आफूहरूको दलसहित विगतका सबै राजनीतिक दलहरूले आफ्नो कार्यशैलीको आत्मसमीक्षा गर्नुपर्ने बताए। ‘नागरिकले नयाँ दललाई पुरानो दलसँग झगडा गर्न मात्र मत दिएका होइनन्, फरक शासन हेर्न मत दिएका हुन्। सरकारले राष्ट्रिय हितमा सबैलाई एउटै टेबलमा ल्याउन सके मात्र शासनमा भिन्नता महसुस हुन्छ,’ उनले भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय