चीनको पूर्वी बन्दरगाह सहर छिङदाओमा मर्मतका लागि राखिएको विदेशी झन्डावाहक मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा कुल ४२ जना सवार थिए । तीमध्ये १२ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने पाँच जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताइएको छ । थप पाँच जना अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार एपीले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ ।जहाज छिङदाओस्थित एक शिपयार्डमा मर्मतसम्भारका लागि राखिएको थियो । बिहीबार स्थानीय समयअनुसार बिहान करिब ११ः१५ बजे आगलागी सुरु भएको थियो । करिब साढे तीन घण्टापछि दिउँसो २ः३० बजेतिर आगो नियन्त्रणमा लिइएको बताइएको छ । घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री ली छ्याङले पनि जहाजभित्र फसेका व्यक्तिको तत्काल उद्धार गर्न र थप दुर्घटना हुन नदिन आवश्यक सावधानी अपनाउन निर्देशन दिएका छन् । आगलागीको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय