काठमाडौं : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले सपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले सपथ लिएका हुन्।
मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए। नियुक्तिसँगै उनले बिहीबार सपथ लिएका हुन्।उपभोक्ताले ग्यास नपाएको भन्दै मन्त्री यादव विवादित बनेकी थिइन्। उनले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई अशोभनीय अभिव्यक्ति दिएकी थिइन्। सोही अभिव्यक्तिपछि उनको विरोधसमेत भएको थियो। नवनियुक्त मन्त्री साह सुनसरी ४ बाट विजयी भएका थिए। उनले नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पराजित गरेका थिए। सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरी उनी चुनावका बेला रास्वपामा प्रवेश गरेका थिए।






