डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो)मा विद्रोहीको कब्जामा रहेको बुकाभु सहरमा विद्यालयमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या २९ पुगेकाे छ ।
मृतकमध्ये अधिकांश विद्यालयका विद्यार्थी रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । एएफसी/एम२३ विद्रोही समूहका प्रवक्ता लरेन्स कान्युकाका अनुसार मृत्यु हुनेमा १९ जना छात्रा र पाँच जना छात्र रहेका छन् । घटनामा विद्यार्थीहरूबाहेक अन्य व्यक्तिसमेत प्रभावित भएका छन् ।
स्थानीय समयअनुसार बिहीबार बिहान करिब ८ बजे बुकाभुको चिम्पुन्डा क्षेत्रमा आगलागी सुरु भएको थियो । आगो नजिकै रहेका उजामा प्राथमिक विद्यालय र फुराहा माध्यमिक विद्यालयसम्म फैलिएको थियो । आगलागी आसपासको बस्तीमा समेत फैलिँदा करिब ३०० वटा काठबाट बनेका घर जलेर नष्ट भएको दक्षिण किभु प्रान्तका उपगभर्नर दुनिया मासुम्बुको ब्वेङ्गेले बताएका छन् ।
आगलागी फैलिएपछि विद्यालयमा रहेका विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो । स्थानीय अधिकारी प्याट्रिस बुडुगेका अनुसार सुरक्षित रूपमा बाहिर निस्कने क्रममा विद्यार्थीहरूले एकअर्कालाई कुल्चिएको र केहीले आगोबाट बच्न जोखिमपूर्ण बाटो रोजेको बताएका छन् । भागदौडका क्रममा केही विद्यार्थी बेहोस भएका थिए भने केहीको मृत्यु भएको थियो ।
स्थानीय स्वास्थ्यकर्मीका अनुसार ठूलो संख्यामा विद्यार्थीहरू धुवाँका कारण निसास्सिएका थिए । एक स्थानीय क्लिनिकका नर्स क्रिस्टोफ जिगाशानेले आफ्नो स्वास्थ्य केन्द्रमा शिक्षकसहित करिब ५० विद्यार्थीलाई गम्भीर अवस्थामा ल्याइएको बताएका छन् । उनका अनुसार केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
एएफसी/एम२३ का प्रवक्ता कान्युकाका अनुसार आगलागीपछि २९ जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । तीमध्ये २१ जनालाई सघन उपचार कक्षमा राखिएको छ । गम्भीर घाइतेमध्ये १७ जनाको कादुतु जनरल अस्पताल र चार जनाको बुकाभु प्रान्तीय जनरल अस्पतालमा उपचार भइरहेको बताइएको छ । आगलागीको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन । स्थानीय सञ्चारमाध्यमहरूले मृतकको संख्या प्रारम्भिक रहेको र उद्धार तथा खोजी कार्य जारी रहेकाले संख्या अझै बढ्न सक्ने बताएका छन् ।
आगलागी नियन्त्रणका लागि आपत्कालीन उद्धार टोली परिचालन गरिएको एएफसी/एम२३ ले जनाएको छ । समूहले प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउने बताउँदै घटनापछि शान्त रहन र एकअर्कालाई सहयोग गर्न अपिल गरेको छ । बुकाभु पूर्वी डीआर कंगोको दक्षिण किभु प्रान्तको राजधानी हो । खनिज स्रोतले सम्पन्न पूर्वी कंगोमा लामो समयदेखि सशस्त्र द्वन्द्व जारी छ। रुवान्डाको समर्थन रहेको आरोप लाग्दै आएको एएफसी/एम२३ समूहले सन् २०२५ को फेब्रुअरीदेखि बुकाभु सहरमाथि नियन्त्रण कायम गर्दै आएको छ ।







