काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्।

बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।

भेटघाटका क्रममा प्रधानमन्त्री शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचारलगायतका विषयमा विस्तृत ब्रिफिङ लिएका थिए। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग बेग्लै छलफल गरेका शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग सामूहिक छलफल गरेका थिए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते रसुवा जिल्लामा आएको भोटेकोशी बाढीले निम्त्याएको संकट व्यवस्थापनका विषयमा चासो राखेका थिए। सुरक्षा संगठनहरूले विपद् उद्धारमा देखाएको तदारुकता र काम–कारबाहीको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले हाल उद्धार तथा राहतको काम कसरी अघि बढिरहेको छ भन्नेबारे जिज्ञासा राखेका थिए।

‘उद्धारको काम कहाँ पुग्यो ? अब के–कति बाँकी छ ? कहिले सकिन्छ ? अनि अब थप के गर्न सकिन्छ ?’
भन्ने विषयमा शाहले विशेष चासो देखाएका थिए। विपद् प्रभावित सबै ठाउँमा उद्धार सामग्री र राहत पुगे, नपुगेको विषयमा पनि प्रधानमन्त्रीले जानकारी लिएका थिए। जवाफमा सुरक्षा संगठनका प्रमुखहरूले आ–आफ्नो मातहतबाट भएका काम–कारबाही र उद्धारमा देखिएका चुनौतीबारे जानकारी गराएका थिए।

बैठकमा सुरुङमा फसेका व्यक्तिहरूको उद्धारमा भएका कठिनाइ, शवको संकलन तथा व्यवस्थापनमा देखिएका समस्याबारे पनि छलफल भएको थियो। बाढीले बगाएर ल्याएका शवहरूको संकलनमा समेत समस्या देखिएको सुरक्षा प्रमुखहरूले बताएका थिए। शवहरू निकै गलिसकेको अवस्थामा भेटिएकाले पहिचान, संकलन र व्यवस्थापनमै जटिलता थपिएको उनीहरूको भनाइ थियो।

नेपाल प्रहरीले आफ्नो प्रक्रियाअनुसार शव व्यवस्थापन गरिरहेको र बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिइएको थियो। सुरुङमा फसेका व्यक्तिहरूको उद्धारबारे प्रधानमन्त्री शाहले विशेष चासो राख्दै सुरुदेखि जुन गतिमा काम भइरहेको छ, सोही गतिलाई निरन्तरता दिन निर्देशन दिएका थिए। साथै, वैदेशिक विशेषज्ञहरूसमेत खटिएर भइरहेको कामबारे पनि उनले जानकारी लिएका थिए।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार, राहत सामग्री वितरण र घाइतेलाई अस्पताल पु¥याउने कार्यलाई प्राथमिकता दिएको बताए। कठिन भूगोल र लगातारको वर्षाका बाबजुद उद्धार जारी राखिएको बताउँदै सुरक्षा प्रमुखहरूले थप जनशक्ति र उपकरण परिचालन गरेर कामलाई अझ तीव्र बनाइने जानकारी दिए।

नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले स्थानीय तहमा प्रहरी बलले मृतकको पहिचान, हराएका व्यक्तिहरूको खोजी र भिड नियन्त्रणमा सक्रिय भूमिका खेलिरहेको बताए। उनले राहत वितरणमा पारदर्शिता कायम राख्न विशेष ध्यान दिइएको तर स्रोत तथा उपकरण अझै अपर्याप्त रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।

सशस्त्र प्रहरी प्रमुख नारायणदत्त पौडेलले बाढी प्रभावित क्षेत्रमा अस्थायी शिविर खडा गरेर उद्धारको काम भइरहेको जानकारी दिए। भग्नावशेषमा पुरिएका, घरभित्र थुनिएका तथा पानी र हिलोमा फसेकाहरूको उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरीले विशेष टोली नै खटाएको छ।

खाद्यान्न वितरण र घाइतेको उपचारमा सशस्त्र प्रहरी अग्रसर रहेको उल्लेख गर्दै आईजीपी पौडेलले लगातारको वर्षा र पहिरोले अवरोध पु¥याए पनि प्रभावित क्षेत्रमा टोली निरन्तर सक्रिय रहेको बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय