काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई सम्झाएको बताएकी छन् ।

सुत्केरी महिलाका लागि राज्यले दिने भत्ता तथा सुरक्षित मातृत्वको अवधारणा अघि बढाउन आफ्ना पिता भरतमोहन अधिकारीले खेलेको भूमिकाको स्मरण गरिन् ।

उनले जीवन र मृत्युको दोसाँधमा रहेकी गर्भवती महिलालाई केही हजार रुपैयाँको अभावकै कारण अस्पतालको ढोकाबाट बाहिर निकालिएको घटना राज्यका लागि गम्भीर लज्जाको विषय भएको बताइन् ।

‘सुत्केरी महिलालाई अस्पतालसम्म पुर्‍याउनेदेखि उपचारका लागि राज्यले सहयोग गर्नुपर्छ भन्ने सोचका साथ मेरा बुबाले सुत्केरी भत्ताको सुरुवात गर्नुभएको थियो,’ अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तर आज आफ्नै देशमा एउटी गर्भवती महिला पैसा नभएकै कारण अस्पतालको ढोकाबाट निकालिनुपर्ने अवस्था देख्दा मलाई गहिरो लज्जाबोध भएको छ ।’

उनले संविधानले सुरक्षित मातृत्वलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि व्यवहारमा त्यसको अनुभूति गराउन नसकिएको बताइन् ।

‘हामीले संविधानमा सुरक्षित मातृत्वलाई मौलिक हक लेख्यौँ, राज्यका नीति तथा कार्यक्रममा ठूला कुरा गर्‍यौँ । तर एउटी आमा प्रसव पीडाले छटपटाइरहेका बेला पैसा नभएकै कारण अस्पतालको ढोकाबाट निकालिन्छिन् भने हाम्रा नीति, कानुन र भाषणको औचित्य के रहन्छ ?,’ उनले प्रश्न गरिन् ।

सप्तरीको घटनामा संलग्न कर्मचारी तथा अस्पताल प्रशासनमाथि तत्काल छानबिन गरी दोषी देखिए कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

‘पैसाको अभावमा कुनै पनि गर्भवती महिलाले अस्पतालको ढोकामा अपमानित हुनुपर्ने अवस्था आउनु हुँदैन । एउटी आमाको पीडा राज्यले बुझ्न सकेन भने हामीले गरेको राजनीति र बोकेको पदको अर्थ रहँदैन,’ अधिकारीले भनिन् ।

सप्तरीमा अस्पतालले पैसा नभएको भन्दै फर्काएपछि बबिता पासवानले फुटपाथमै शिशु जन्माएकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय