काठमाडौँ । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको एक्सप्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ को प्रसारण आज (शनिबार) देखि सुरु हुने भएको छ । साँझ ९ बजे काष्ठमण्डप गोल्ड एचडी टेलिभिजनबाट प्रसारण हुने शोलाई हाइलाइट नेपालको युट्युबमा पनि हेर्न पाइनेछ ।
नेपालमा यसअघि निर्माण भएका टेलिभिजन रियालिटी शोको परम्परागत ढाँचाभन्दा फरक शैली र प्रस्तुतिसहित निर्माण गरिएको शोमा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । नृत्यसँगै बाल प्रतिभाको व्यक्तित्व, सृजनशीलता, प्रस्तुति र स्टेज आत्मविश्वासलाई समेत शोमा प्रथामिकता दिइएको छ ।डान्स, ड्रीम, शाइन’ भन्ने नारासहित निर्माण गरिएको ‘लिटल डान्सिङ च्याम्प’ को पहिलो र दोस्रो एपिसोड ‘द च्याम्पियन्स राउन्ड’ मा केन्द्रित हुनेछ । जुन शो आइतबार पनि प्रसारणमा आउनेछ । पहिलो चरणमा ५० जना बाल नृत्य प्रतिभाले एउटै मञ्चमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नेछन् । जसको मूल्याङ्कन केशव थापा, बबिता पोखरेल र सरोज प्रजा निर्णायकको रूपमा रहेका छन् ।ह्वाइट फेदर्स इन्टरटेन्मेन्टको आयोजना र जिनो टेक इन्टरनेशनलको व्यवस्थापनमा निर्माण भएको शो जिनो स्टुडियोज, पेप्सीकोला स्टुडियो पार्टनर तथा जिनो पेय भोटिङ पार्टनरका रूपमा रहेका छन् । कार्यक्रमको निर्माता त्रिदेवी श्रेष्ठ हुन् भने निर्देशन शानु खान रहेका छन् । सहायक निर्देशकमा प्रमित बख्रेल, व्यवस्थापनतर्फ स्वीकृति ढकाल, मनिषा बिके, सुनिल महर्जन, आर्शु महर्जन, विनोद पोखरेल र सुन्दर हाकाजु रहेका छन् ।शोका विजेताले नगद तीन लाखको अलावा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यक्रममा सहभागीको अवसर प्राप्त गर्ने शोका निर्देशक सानु खानले बताए ।





