काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्यबाट नेपालले अधिकतम लाभ उठाउनुपर्ने बताएका छन्।
दिल्लीमा जारी ब्रिक्स प्लस शिखर सम्मेलन र त्यस क्रममा चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेतहरू निकै सकारात्मक रहेको भन्दै उनले बदलिँदो भू–राजनीतिक अवस्थामा नेपालले सुझबुझपूर्ण कूटनीति अपनाउनुपर्नेमा जोड दिएका हुन्।
‘दूरीमा खेल्ने गल्ती नदोहोर्याऔँ’
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक सत्ता स्वार्थ पूरा गर्न खोज्ने शासकहरूको प्रवृत्तिले देशलाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाएको बताएका छन्। उनले ती गल्तीबाट पाठ सिक्दै अब नेपालले कुनै दुविधा नराखी अघि बढ्नुपर्ने बताए।
‘अहिलेको द्विपक्षीय वार्ताको क्रममा चिनियाँ राष्ट्रपतिले प्रयोग गरेका शब्दहरू ‘दुवै पक्षले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै’ को निहितार्थ राम्ररी ठम्याउन सक्नुपर्छ,’ उनले भनेका छन्।
साथै, भारतको अगुवाइमा सर्वसम्मतिले पारित १४० बुँदे प्रस्तावको बहुआयामिक दिशाबोधलाई पनि नेपालले गम्भीरताका साथ विश्लेषण गर्नुपर्ने उनको सुझाव छ।
‘नेपाललाई गतिशील सेतु बनाऔँ’
डा. भट्टराईले अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण सफ्ट पावर हासिल नगरी नेपालजस्ता सापेक्षित रूपले साना र कम विकसित देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न नसक्ने यथार्थ औँल्याएका छन्।
यसका लागि कुशल कूटनीतिक प्रयासमार्फत नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउनुपर्ने र अन्ततः ‘शान्ति राष्ट्र’ का रूपमा रूपान्तरण गर्ने कार्यको योजनाबद्ध सुरुवात आजैदेखि गर्नुपर्ने प्रस्ताव उनले अघि सारेका छन्।
समयमै कूटनीतिक सुझबुझ र सन्तुलन नअपनाए नेपालले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत पूर्वप्रधानमन्त्री भट्टराईले दिएका छन्।
‘अन्यथा दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश भन्ने हाम्रो परम्परागत लोकोक्तिको दुष्परिणाम भोग्न हामी अभिशप्त हुनेछौँ,’ वर्तमान सरकार र युवा नेतृत्वलाई सचेत गराउँदै उनले भनेका छन्, ‘हाम्रा युवा सत्ताधारीहरूको बेलैमा ध्यान पुगोस् !’
के भने भट्टराईले ?
ब्रिक्स प्लस देशहरूको दिल्लीमा भैरहेको शिखर-सम्मेलनको क्रममा पारित १४० बुँदे प्रस्ताव र चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीबीच भएका द्विपक्षीय वार्ताका संकेतहरू निकै सकारात्मक छन्।
नेपाल जस्तो लामो संक्रमणकालबाट गुज्रिरहेको र दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको ‘अति कम विकसित’ देश नेपालले अब कुनै द्विविधामा नरही यसबाट अधिकतम लाभ लिने ढंगले अघि बढ्नुपर्छ।
हामीले हिजोको भारत र चीन वीचको दूरीमा खेलेर आफ्नो क्षणिक सत्तास्वार्थ पूर्ति गर्न खोज्ने र अन्ततः देशलाई अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसाइराख्ने अल्पदृष्टि भएका हाम्रा शासकहरूको गल्तीबाट सिक्नैपर्छ।
अहिलेको द्विपक्षीय वार्ताको क्रममा चिनियाँ राष्ट्रपतिले प्रयोग गरेका शब्दहरू ‘both sides keeping in mind the long-term development of bilateral relations from a strategic perspective’ को निहितार्थ र भारतको अगुवाइमा बनेको सर्वसम्मतिले पारित लामो प्रस्तावको बहुआयामिक दिशाबोध राम्ररी ठम्याउन सक्नुपर्छ।
अबको युगमा उच्च तथा दिगो आर्थिक समृद्धि र चातुर्यपूर्ण सफ्ट पावर हासिल नगरी हामी जस्ता सापेक्ष रूपले साना र कमजोर देशले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्नै सक्दैनौं।
यसनिम्ति आगामी दिनमा चीन र भारतबीच सम्भावित बढ्दो प्रतिस्पर्धात्मक सहकार्यको लाभ उठाउन अनिवार्य छ। त्यसकालागि कुशल कुटनीतिक प्रयास मार्फत् हामीले नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ बनाउने र अन्ततः ‘शान्ति राष्ट्र’ मा रूपान्तरण गर्ने कार्यको योजनाबद्ध शुरूवात आजैदेखि गर्नैपर्छ।
अन्यथा ‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ भन्ने हाम्रो परम्परागत लोकोक्तिको दुष्परिणाम भोग्न हामी अभिशप्त हुनेछौं!
हाम्रा युवा सत्तधारीहरूको बेलैमा ध्यान पुगोस् !





