सडक डिभिजन कार्यालय बैतडीले विभिन्न सडक आयोजनाका १० वटा ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गर्दै ‘तोकिएको म्याद समाप्त भइसकेको’ तर निर्माण तथा मर्मत कार्य सम्पन्न नभएको जनाएको छ। निर्माण कार्य अलपत्र पार्ने र सम्झौताको पालना नगर्ने प्रवृत्ति बढेपछि डिभिजनले यस्तो कडा कदम चालेको हो।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ र ठेक्का सम्झौताको साधारण सर्त (जीसीसी) बमोजिम ती ठेक्काहरू तोडिएको हो। सम्झौता रद्द गरिएका निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्न सिफारिस गरिनेछ। यसका साथै ऐनको दफा ५९ को उपदफा ८ अनुसार कार्यसम्पादन जमानत, धरौटी रकम र बाँकी रहेको पेस्की बापतको जमानत जफत हुनेछ।
कार्यालयले न्यू सहारा कन्स्ट्रक्सन डडेल्धुरा, जयलक्ष्मी निर्माण सेवा बाजुरा, प्रभास कन्स्ट्रक्सन बैतडी, श्री नरेन्द्र निर्माण सेवा बाजुरा, कुलगाडे निर्माण सेवा बैतडी, बिग बी एन्ड कम्पनी प्रालि बैतडी र रणसैनी निर्माण सेवा बैतडीसहितका विभिन्न निर्माण व्यवसायीका ठेक्काहरू अन्त्य गरेको छ। महाकाली राजमार्ग, खोड्पे-चैनपुर राजमार्ग, मध्यपहाडी राजमार्ग र दार्चुला राजमार्ग अन्तर्गतका सडक मर्मत, स्तरोन्नति तथा सुरक्षासम्बन्धी ठेक्काहरू रद्द भएका हुन्।
निर्माण व्यवसायीहरूले गर्नुपर्ने काम र भुक्तानी बाँकी रहेका विषयमा कार्यालयले १५ दिनको समयसीमा दिएको छ। सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निर्माण व्यवसायीहरूलाई डिभिजन कार्यालयमा सम्पर्क राखेर आर्थिक फरफारक गर्न भनिएको छ। सम्बन्धित व्यवसायी वा प्रतिनिधि उपस्थित नभएमा कार्यालयका प्राविधिकमार्फत नापजाँच गरी वित्तीय फरफारक गरिनेछ।







