काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण गरेको बताएका छन्। तीजको शुभकामना दिँदै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका हुन्।
उनले भने,‘यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ। हाम्रा चाडपर्व केवल उत्सवका अवसर मात्र होइनन्, तिनले पुस्तौंदेखि हाम्रो सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्दै आएका छन्। यही समृद्ध परम्पराको एक महत्वपूर्ण पर्व हो- हरितालिका तीज।’
महिलाहरूको आस्था, भावना र आत्मीयतासँग जोडिएको तीजले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्दै आएको उनको भनाई छ। उनले भने,‘हाम्रा चाडपर्वले विविधता बीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएका छन्। यिनै सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण गरेका छन्। हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस्। यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा पार्टी र मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’






