काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।  नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार यही असार साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो । यसैगरी भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, अहिलेसम्म महाधिवेशन तालिका अनुसार काम हुन सकेको छैन ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले केन्द्रीय महाधिवेशन मिति प्रभावित नहुने गरी कार्यतालिका संशोधन हुने जानकारी दिए । त्यसका लागि तिज लगत्तै केन्द्रीय संयोजन समिति बैठक बस्ने उनले बताए ।

‘महाधिवेशन कार्यतालिका अनुसार पार्टी सदस्यता नवीकरण पनि हुन सकेको छैन । भोटेकोशी बाढीका कारण केही जिल्लामा अधिवेशन प्रभावित भएको छ । यी सबैलाई ध्यानका राखेर हामी छिट्टै केन्द्रीय संयोजन समिति बोलाउँछौँ’, ज्वालाले भने ।

केन्द्रले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि अधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि नहुँदा समस्या भएको तल्ला समितिको गुनासोप्रति पार्टीको ध्यान गएको उनले बताए ।

‘अब बस्ने बैठकले अधिवेशन कार्यविधि पनि ठोस रूपमा बनाउँछौँ । मङ्सिरमै महाधिवेशन हुनेगरी कार्यतालिका पनि आउँछ’, उनले भने ।

फागुनमा भएको निर्वाचनअघि साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ घटकसँग पार्टी एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय