कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्।

यसअघि होटल तथा व्यवसाय राति १० बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था थियो। होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलको सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो।

नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन्। होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा यस्ता होटलको संख्या करिब एक सय छ।

सञ्चालन समय थप गर्ने सम्बन्धमा भएको सम्झौतापत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन्।

राति अबेर धनगढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, हवाई यात्रु र लामो दूरीका यात्रुलाई खाना तथा आवासको सुविधा लिन सहज होस् भन्ने उद्देश्यले समय थप गरिएको होटल व्यवसायी संघले जनाएको छ।

संघका अध्यक्ष पाण्डेयले नयाँ व्यवस्थाले राति अबेर धनगढी पुग्ने यात्रु तथा पर्यटकलाई होटलको सेवा लिन सहज हुने बताए। यसबाट धनगढीमा पर्यटकको बसाइ लम्ब्याउन तथा होटल र पर्यटन व्यवसायलाई सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।

राति १२ बजेसम्म सञ्चालन गर्न पाउने सुविधा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलका लागि मात्र लागू हुनेछ। अन्य होटल तथा व्यापारिक प्रतिष्ठानका लागि राति १० बजेसम्मको समयसीमा यथावत् रहनेछ।

सम्झौतापछि प्रशासनले होटल सञ्चालकलाई रातिको समयमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ। ग्राहकको विवरण राख्ने, होटल परिसरको निगरानी गर्ने तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जिम्मेवारी होटल सञ्चालकको हुने प्रशासनले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय